१२ बर्षअघि विदेश जाने भन्दै पासपोर्ट बनाएका सुन्दरबजार-५ पाउँदीका ध्रुव पोख्रेल यतिबेला गाईफार्ममा रमाएका छन् । ‘विदेश गएर धेरै धन सम्पती आर्जन गरी शहर बस्ने ठूलो सपना बोकेको थिएँ ।’ पोखरेलले भने, ‘स्वदेशको मायाले विदेशको सपना देख्न छाडीदिएँ । स्वदेशमै बसेर स्वरोजगार बन्छु भन्दै मेनपावरबाट पासपोर्ट पनि फिर्ता मगाएँ ।’
विदेश जानभन्दा स्वदेशमै केही गर्ने मनशाय बोकेका पोखरेलले गाउँमा बसेर कुखुरापालन ब्यवसाय शुरु गरे । तर उनलाई कुखुरा व्यवसायले सोचेजस्तो आम्दानी भने दिएन । ‘कुखुरा पालें तर सोचेअनुसार आम्दानी भएन,’ उनले भने, ‘कुखुरालाई रोगले सतायो । मलाई ऋणले ।’
ब्यवसाय घाटामा गएपनि नआत्तिएका पोखरेलले कुखुरा ब्यवसायलाई छाडेर गाई पाल्ने सोच राखे । ‘२०६८ सालमा एउटा उन्नत जातको गाई ल्याएँ ।’ उनि भन्छन्, ‘एउटा गाईबाट शुरु भएको गाईपालन व्यवसायले अहिले ठूलो रूप लिएको छ ।’
गाइपालक कृषक पोखरेलले ‘जगतमाया गाई फार्म’ मार्फत ४६ भन्दा बढी उन्नत जातका गाई पालेका छन् । गोठमा दुध दिने गाई १६, ब्याउने गाई २८ वटा छन् । फार्ममा जर्सी क्रस र होलेस्टेन क्रस जातका गाई रहेका छन् ।
आधुनिक गाईगोठ निर्माण र गाई खरिदमा मात्रै ३१ लाख खर्चेका उनी जिल्लाकै ठूलो गाई फर्म संचालक पनि हुन् । उनको फर्मको हालको लागत १ करोड बढि रहेको छ । ‘गाई पाल्ने मेरो सपना पुरा भएको छ ।’ उनले भने, ‘मलाई विदेश यहीं भएको छ । परिवारकै काखमा बसेर मासिक डेढ दुई लाख स्वदेशमै कमाउँछु ।’
पोखरेलको फार्मबाट अहिले दैनिक १ सय ६० लिटर दूध उत्पादन हुन्छ ।
उनले प्रतिलिटर ५१ रुपैयाँमा दूध बिक्री गर्दै आएका छन् । उत्पादित दुधलाई पोखरेलले गोरखाको पालुङटारस्थित एब्नम डेरीलाई बेच्दै आएका छन् । ‘जिल्लाका डेरीबाट पैसा उठाउन नै समस्या छ । दुध दियो तर पैसा पाउनै मुश्किल छ ।’ उनले भने, ‘जिल्लामा भन्दा बाहिरी जिल्लामा राम्रो मूल्य र समयमा पैसा पाएपछि दूध पालुङटार पठाउँदै आएको छु ।’
गाईफार्ममा पोखरेललाई उनकी श्रीमती जानुका र बुहारी सपनाले साथ दिएका छन् । दुई कामदार बिहानैदेखि गाईको स्याहार–सुसारमा जुट्छन् । उनिहरु बिहानैदेखि गाईको स्याहार सुसारमा लाग्ने गर्दछन् । गाउँ घरमै कृषि ब्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने लक्ष्यका साथ ब्यवसाय शुरु गरेको संचालक पोखरेलकी श्रीमती जानुका पोखरेल बताउँछिन् । उनका अनुसार गाईफार्मको मासिक खर्च डेढ लाख हुन्छ । ‘गाईका लागि दाना, चोकर, कर्मचारी तलब गरी डेढ लाख खर्च हुन्छ ।’ जानुकाले भनिन्, ‘सबै खर्च कटाएर मासिक डेढ दुई लाख कमाई हुन्छ ।’
पोखरेलले ४० रोपनी जग्गामा गाईका लागि घाँसखेती समेत गरेका छन् । उनले नेपीएर, मुलाटो लगायतका अन्य उन्नत जातका घाँस पनि लगाएका छन् । घाँसखेतीर गाईपालनका लागि पोखरेललाई पशु सेवा कार्यालय लमजुङले सहयोग गरेको छ ।
सँगैै पासपोर्ट बनाएर विदेश हिँडेका धुब्रका कान्छा भाइ उपेन्द्र यतिखेर जापानमा छन् । ‘देशको कृषि क्षेत्रमा केही योगदान गरौं भनेर स्वदेशमै बसियो । यो उद्यम गरियो । गर्न सके पैसा यही देशकै माटोमा छ ।’ उनि भन्छन्, ‘तीन दाजुभाइमध्ये जेठो म गाईपालनमा छु । कान्छो भाई जापानमा । माइलो भाई भने नेपाली सेनामा छन् ।’
स्वदेशमै आफ्नो परिवारसँगै बसेर गाईपालन व्यवसायमा रमाउँदै मनग्गे आम्दानी गरेका कृषक धुब्रलाई विदेश नगएकोमा कुनै पछुतो छैन । बरू स्वदेशमै बसी उद्यम गर्न सकेकोमा उनलाई गर्व छ । उनी भन्छन् , ‘मेरो मन यहीँ रमेको छ ।’
पछिल्लो समययता जिल्लामा उन्नत पशुपालनको लहर चलेको जिल्ला पशु सेवा कार्यालय लमजुङले जनाएको छ । जिल्लाका किसानहरुले ६ करोड लगानीमा १ हजारको हाराहारीमा गाई पालेको बरिष्ठ पशु विकास अधिकृत डा। लक्ष्मण ढकालको दावी छ ।
प्रतिक्रिया