सीपीको पार्टीमा पहिरो

सीपीको पार्टीमा पहिरो


सीपी मैनालीले नेतृत्व गर्दै आएको नेकपा (माले)मा पहिरो गएको छ । केन्द्रीय कमिटीका २१ सदस्यसहित करिव एक सय नेता कार्यकर्ता सीपीलाई ‘बाई-बाई’ गर्दै नेकपा (एमाले)मा प्रवेश गरेपछि माले पार्टीमा दुलही अन्माएपछिको घरजस्तै सुन्यता छाएको छ ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा हिजो बिहिबार आयोजित एक विशेष कार्यक्रमबीच मालेका पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसदहरु अइन्द्रसुन्दर नेम्वाङ र गंगा चौधरी, पोलिटब्युरो सदस्यहरु पुण्य गौतम ‘विश्वास’, वीरेन्द्र थपलिया, रूपकबहादुर देउवा, नीलमणि बराल, हिक्मत देउवा तथा केन्द्रीय सदस्यहरु तथा नेताहरु रोहित केसी, इन्द्रकुमार झा र प्रेम दाहाललगायतलाई एमाले अध्यक्ष केपी ओलीले रातो टीका र खादा पहिराउँदै एमालेमा प्रवेश गराएका हुन् । सो अवसरमा मालेका ३५ जिल्लाका पार्टी सचिव र जनसंगठनका नेता पनि एमाले प्रवेश गरेका छन् ।

नव आगन्तुक सदस्यहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले मालेका अध्यक्ष सिपी मैनालीसहित अन्य वामपन्थी दललाई समेत बाम गठबन्धनमा आबद्ध हुन आग्रह गरे । आफ्नो बोलीका लागि कहलिएका ओलीले भने, अब फरक फरक र सानातिना पसल थाप्नु आवश्यक छैन, एउटै र ठूलो पसल भए पुग्छ, पुरानो इञ्जिन बोकेर पनि कम्युनिष्ट आन्दोलन चल्दैन ।’

नवप्रवेशी नेता पुण्य गौतम विश्वासका अनुसार मालेबाट अझै थप नेताहरु एमाले प्रवेशको तयारीमा छन् । उनले नेपालमा एउटै बलशाली कम्युनिष्ट केन्द्र बनाउने महाअभियानको सिलसिलामा आफूहरु एमालेमा समाहित भएको प्रतिक्रिया दिँदै माले महासचिव मैनालीलाई समेत वाम ध्रुवीकरणमा लाग्न आग्रह गरे । मैनाली एक सच्चा राष्ट्रवादी नेता रहेको दाबी गर्दै उनले यस्तो आग्रह गरिएको बताए ।

आसन्न चुनावमा एमाले नेतृत्वको वामपन्थी गठबन्धनलाई दुई तिहाई बहुमतले जिताएर नेपालमा शान्ति, स्थिरता, विकास र राष्ट्रियताको झण्डा फहराउँदै हातमा हात काँधमा काँध मिलाएर वायुपंखी बेगमा अगाडी बढ्नुपर्ने समय आएको विश्वासको भनाई छ ।