‘अपहरणकारी’ भन्दै विप्लव माओवादीद्वारा पार्टी-नेतामाथि कारवाही

‘अपहरणकारी’ भन्दै विप्लव माओवादीद्वारा पार्टी-नेतामाथि कारवाही


अर्थसंकलनका लागि जथाभावी मानिस अपहरण गर्ने धन्दामा संलग्न रहेको अभियोग लगाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुदीप नामले चिनिने झकबहादुर मल्ललाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ । नेकपाका केन्द्रिय सदस्य रहेका मल्लमा वैचारिक, राजनीतिक, सांगठनिक र आर्थिक रुपले गम्भीर प्रकृतिको अराजकता रहेकोले कारवाही गर्नुपरेको उक्त पार्टीका प्रवक्ता खड्क विश्वकर्मा प्रकाण्डले जनाएका छन् ।

प्रकाण्डद्वारा जारी विज्ञपितमा भनिएको छ- ‘केन्द्रीय सदस्य रहेका सुदिपमा लामो समयदेखि राजनैतिक, वैचारिक, सांगठनिक र आर्थिक अराजकताका साथै अनुशासनहीनता देखापर्दै आएका थिए । पछिल्लो चरणमा व्यक्तिगत आर्थिक आर्जनका लागि पार्टीको शक्ति दुरुपयोग गर्दै मानिसलाई अपहरण गरी नियन्त्रणमा लिने र रकम असुल्ने जस्ता गम्भीर अपराधमा संलग्न देखिएपछि उनलाई गत केन्द्रिय समितिको बैठकबाट एक तहको कारवाही गरिसकिएको थियो ।’

यसबीच सुदीपले राजीनामा पेस गरेको जानकारी दिँदै प्रकाण्डले आफूलाई सच्याउनुको साटो उल्टै कारवाहीमा परिसकेपछि पार्टी परित्याग गरेको हौवा फैलाएर उनले थप गल्ती गरेको आरोप लगाएका छन् । फेसबुकमार्फत् झकबहादुर उर्फ सुदिपले आफूले नेकपा परित्याग गरेको घोषणा गरेका थिए । उनको यस कदमबाट पार्टी नेतृत्व थप रुष्ट बनेको बुझिएको छ । कारवाहीमा परिसकेपछि परित्यागको कुरा गर्नु एउटा नाटक मात्र भएको भन्दै विज्ञप्तिमा भनिएको छ- ‘झकबहादुर मल्ललाई पार्टीको सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ ।’

यसैबीच नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आफ्नो पार्टीले पेचिलो ढंगले खारेज गरेर जाने बताएका छन्। प्यूठानमा आयोजित जिल्ला तहका नेताहरुलाई प्रशिक्षण दिँदै उनले आगामी चुनावलाई सशक्त खारेज गर्न डटेर लाग्न निर्देशन दिएका हुन्।

उक्त पार्टीसुत्रका अनुसार कथित संसदीय व्यवस्थाको निर्वाचनले जनताका समस्याहरु हल गर्न नसक्ने र राष्ट्रियता पनि धरापमा पाने विप्लवको धारणा छ । अमेरिका र भारतले जनतामाथिको पुँजीवादी दमन व्यापक गर्न नेपालका संसदवादीमामार्फत लगानी गरेका आरोप लगाउँदै विप्लवले अमेरिका र भारतको पैसा बाँडेर चुनाव जित्ने र मुलुकलाई गुलाम बनाउने होडमा संसदवादीहरु रहेको आफ्ना कार्यकर्ताहरुसमक्ष दाबी गरेका छन् ।