मनाङको थान्चोकबाट तीन दर्जन युवा कांग्रेसमा प्रवेश

मनाङको थान्चोकबाट तीन दर्जन युवा कांग्रेसमा प्रवेश


चामे गाउँपालिका अन्तर्गत पर्ने थान्चोक गाउँबाट तीन दर्जन बढि युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधी सभाको निर्बाचनलाई लक्षित एक कार्यक्रममा यतिका युवाहरु एमाले, राप्रपा र माओवादी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

शुक्रबार थान्चोक गाउँमा आयोजित शुभकामना आदनप्रदान, अन्तरक्रिया, भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसमा प्रवेश गर्ने युवाहरुको सहभागिता उत्साहजनक भएको नेपाली कांग्रेस मनाङका युवा नेता सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार जिल्लामा युवाहरुको आकर्षणमा नेपाली कांग्रेस बनेको छ ।

नवप्रवेशीहरुलाई नेका मनाङका पार्टी सभापति टेकबहादुर गुरुङले खादा अबिर र सदस्यता दिएर स्वागत गरेका छन् । उनले मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभाको दुवै निर्बाचनमा सफलता हात पार्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । उनले स्थानिय तहमा जे जस्तो गल्ती भएपनि अब गल्तीलाई दोहोर्‍याउन नहुने भन्दै पार्टीको निति, नियममा रहेर अघि बढेमा मनाङमा फेरी पनि कांग्रेसकै जीत पक्का रहेको स्पष्ट पारे ।

सभापति गुरुङले कसैको डर धम्की, त्रास र प्रलोभनमा नपरी एक भएर आगामी निर्बाचनको प्रचारमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

जिल्लाको विभिन्न स्थानबाट युवाहरुको टोली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको र पार्टी प्रवेश कार्यक्रमलाई जिल्लाका सबै गाउँमा पुर्‍याउने लक्ष्य रहेको युवा नेता गुनराज गुरुङले जानकारी दिए ।

सो कार्यक्रममा मनाङका नेताहरु चिन्ता घले, साङ्दो लामा लगायतको उपस्थिती रहेको थियो ।