अन्ततः रुख नै चढे बाबुराम, गोरखा २ बाट उठ्ने निश्चित

अन्ततः रुख नै चढे बाबुराम, गोरखा २ बाट उठ्ने निश्चित


वाम गठबन्धनमा आफ्नो स्थान सुरक्षित नभएपछि कांग्रेसमा फर्किएका बाबुराम भट्टराईले अन्ततः कांग्रेसबाटै चुनाव लड्ने भएका छन् । नेपाली कांग्रेस र नयाँ शक्ति बिच तालमेल भएपछि भट्टरार्ई गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उठ्ने भएका हुन् ।

कांग्रेसको एक स्रोतका अनुसार गोरखा २ मा प्रतिनिधिसभामा भट्टराईलाई कांग्रेसले सघाउने सहमति भएको छ ।
गोरखा २ मा कांग्रेसको समर्थनमा उम्मेदवार बनेका भट्टराई र एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठबीच आउँदो मंसीर १० गते चुनावी प्रतिस्पर्धा हुनेछ । दुबै हस्ती एकै क्षेत्रबाट उठ्ने भएकोले सबैको नजर गोरखा २ मा नै केन्द्रित हुन थालेको छ ।

यस अघिका संविधान सभाको निर्बाचनमा बाबुराम यसै क्षेत्रबाट उठेका थिए । वाम गठबन्धनमा पुगेका भट्टराईलाई गोरखा २ मा चुनाव लड्न नदिने भएपछि उनि कांग्रेसको शरणमा आएका हुन् । स्थानिय निकायको निर्बाचनलाई आधार मान्ने हो भने गोरखाका दुबै क्षेत्र कांग्रेसको पकड मानिन्छ ।

यसै क्षेत्रको प्रदेश (क) र (ख) मा कसलाई टिकट दिने भन्ने बारे शनिबार टुंगो लाग्ने बताइएको छ । नयाँ शक्तिले प्रदेश (क) मागेको छ भने कांग्रेस दुवै प्रदेश आफूले पाउनुपर्ने दावी गर्दै आएको कांग्रेस स्रोतले बताएको छ ।

यस्तै, कांग्रेसको शुक्रबार बेलुकी बसेको बैठकले गोरखा १ मा प्रतिनिधिसभा सदस्यका लागि केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठलाई टिकट दिएको छ । कांग्रेस उम्मेदवारलाई क्षेत्र नंं १ मा नयाँ शक्तिले सघाउने छ । श्रेष्ठ पहिलो संविधान सभाको निर्बाचनमा यसै क्षेत्रबाट चुनाव लडेका ब्यक्ति हुन् ।

कांग्रेसले गोरखा १ को (क) प्रदेशसभा निर्वाचनका लागि युवा नेता धिरन थापालाई टिकट दिएको छ भने प्रदेश (ख) मा पनि युवा एवं प्रभावशाली नेता राजेन्द्र बजगाँईले टिकट दिलाएको छ ।

उता, वाम गठबन्धनमा सहभागी एमालेलाई गोरखामा एउटा प्रदेश दिएर अरु माओवादी केन्द्रले नै राखेको छ । क्षेत्र १ को (ख) प्रदेशमा एमालेका तर्फबाट केन्द्रिय सदस्य रामशरण बस्नेत चुनावी मैदानमा उत्रिएका छन् भने गठबन्धनबाट गोरखा १ मा माओबादीका हरि अधिकारीले टिकट पाए । उता, प्रदेश (क) मा लेखबहादुर थापाले टिकट पाएको माओवादी केन्द्रले जनाएको छ ।

वाम गठबन्धनबाट गोरखा २ को प्रतिनिधसभामा नारायणकाजी श्रेष्ठले टिकट पाएका छन् भने प्रदेश (क) मा कमला नहर्की र (ख) मा अमर तमुले टिकट पाए । गठबन्धनले समानुपातिकतर्फ पनि उम्मेदवार तय गरिसकेको जनाएको छ । हितराज पाण्डे र चुडामणि खड्का प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिकतर्फ उम्मेदवार बनेका छन् ।