दुर्गानाथ शर्माको ‘छाल’माथि उठेका तरङ्ग

दुर्गानाथ शर्माको ‘छाल’माथि उठेका तरङ्ग


■ चापागाईं तीर्थजी

‘छाल’ शब्दको शाब्दिक अर्थ वा पर्याय तरङ्ग हुन्छ र छाल भन्ने पुस्तक आद्योपान्त ‘अनुभव १ देखि ३६ सम्म’ सर्सर्ती पढ्दा शरीर नै सबै जुर्मुरायो, पढ्न छोड्नै सकिनँ । एक दिन बिहान सानी नातिनीले आज एकछाक खाने दिन त होइन ? भनेर व्यङ्ग्य गरिन् । मानिसले सस्तो लोकप्रियताका लागि कतिसम्म निर्घृणी काम पनि गर्छन् । कुरा ०२७ सालतिरको हो । गोरखापत्र नामक पत्रिकामा साहित्यिक वा अन्य लेख–रचना छपाएर नाम–दाम कमाउने होडबाजी चलेको थियो । हामीलाई अध्यापन गर्ने नेपाली भाषाका प्राध्यापक राममणि रिसालज्यूले कक्षामा टिपाएको नोट विद्यार्थीले हुबहु नक्कल गरेर रचनाकार फलानो भनी लेख रचनासमेत छपाउँथे । यस्ता निर्घृणी रचनाकार पनि हुन्थे । त्यस्तो ‘छाल’का रचनाकारको अनुभव ठाउँठाउँमा सारेर नक्कल कसैले नगरी दिऊन् भन्ने मेरो विनम्र अनुरोध छ ।

यस ‘छाल’मा रहेका अनुभवको सँगालो केवल ‘छाल’का पुस्तककारलाई पनि नभई हामी पाठकहरूलाई पनि पे्ररणाको स्रोत हुने रहेछ भन्ने महसुस भयो । पुस्तकमा भएका चित्त दुख्ने (pinching) हृदय छुने (Heart Touching) कुराहरू त कति कति–रहेछन् । सबै कुरा अटाउन यहाँ सम्भव देखिनँ, तर केही कुरा नलेखी बस्न पनि सकिनँ ।

तिनताका गाउँमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं जानु स्वाभाविक थियो । काठमाडौं बस्न खर्च पनि जुटाउन मुस्किल । पेट त भर्नैपर्ने । पेट खाली राखेर पढ्न सकिन्न । हामीजस्ता मध्यमवर्गीय परिवारका सन्तानलाई घरबाट बाबुले ‘क्याँटका क्याँट’ पैसाका बिटा पठाएर धान्न नसक्ने नै हौँ । त्यसैले सानोतिनो जागिर खोज्नु अनिवार्य नै थियो । बाबुले खर्च पठाएर उच्च शिक्षा काठमाडौंमा पूरा गर्छु भन्ने जति नै फुर्ती गरे पनि सकिँदैनथ्यो ।

एकपटक बुद्ध एयरका प्रबन्धक वीरेन्द्र बस्नेतजीले पनि घरबाट खर्च नआएकाले बदाम खान अर्कै साथीलाई भन्नुपरेको कुरा समेत प्रकट गरेको सम्झन्छु । जब कि वीरेन्द्र बस्नेतजीका पिताजी आर्थिक रूपमा संभ्रान्त उच्च वर्गमा पर्नुहुन्छ भन्ने हामीलाई थाहा छ भने ‘छाल’का रचनाकार त बैदारबाजे, मुखिया वा खर्दार नानी, सुब्बा साहेवसम्म भएर १५–१६ जना सन्तान र जहानको लाद्रो भर्ने जिम्मेवारी बोकेका बिचरा बुढा सामान्य व्यक्ति काठमाडौं बस्ने छोराछोरीलाई पैसा कहाँबाट पठाउनु र ? उहाँजस्तै हालत हामी प्रायः मध्यमवर्गीय परिवारको हो भने अझ निम्नमध्यम र निम्नवर्गीय नेपालीका सन्तानको के हालत होला ? डाक्टर बन्ने सपना बोकेर काठमाडौं पुग्नुभएका शर्माजी वरिष्ठ पत्रकार बन्न पुग्नुभएछ । चित्रकारले गणेशको चित्र कोर्दा हनुमान भएजस्तो सम्पत्तिको गरिब हुनु भाग्य होइन, कर्म हो । कर्म गर्न सकिएन भने जीवन हरेक क्षेत्रमा गरिब हुन्छ । शिक्षा, इज्जत, मान–प्रतिष्ठा सबैको गरिब । धन–दौलतको अघाएर डकार कसैलाई आउँदैन, तर के गर्नु धन–दौलतवाला चिनी–मिश्री के–के रोग लागेर इच्छा भोजन गर्न पनि सक्दैनन् । यस्तै हो विधिको विधान ।

तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई शान्तिक्षेत्र नेपालको प्रस्ताव स्वीकार गर्न के अप्ठ्यारो छ भनी सोधनी गर्ने, कसैले नेपाललाई उपनिवेश भनेर होच्याउँदा पनि तत्काल प्रतिकार गर्ने, आफ्नै दाजु डा. ताना शर्माको महिलालाई अपमानित गरेको विरोधको पत्र गोपमा प्रकाशित गर्ने कुरा ज्यादै मननीय छ । मुद्रा राक्षसका कुराबाट उठेको विवादले जागिर चट गर्ने, सरुवा गर्ने आदि कुरा पनि छोडेको छैन । चर्चित धोकेबाज प्रधानमन्त्री डा. गिरीको चारित्रिक भ्रष्टाचार, २०५ जना सांसदलाई व्यङ्ग्य गर्दा कलाकार दीपकराज गिरीलाई कारबाही गर्ने कस्तो थियो तत्कालीन पञ्चायती व्यवस्था ?

यस पुस्तकको विशेषता अर्को के पाएँ त्यो पनि प्रस्ट गर्न सान्दर्भिक नै ठानेको छु । पुस्तक पढ्दा पाठकलाई आनन्द प्राप्त हुने र पुस्तकमा अनुभव प्रकाशित गर्दा पुस्तककारलाई आनन्द प्राप्त गरेकोजस्तो लाग्छ । एउटै कुरा बोल्दा एकथरी हाँस्ने अर्कोथरी रुने जस्तो यसै प्रसङ्गमा भारतीय सन्त कवीरको उद्गारको सम्झना गर्न उचित ठान्छु ।

‘ऐसी वाणी बोलिए मनका अप्पा खोय
अपने को शीतल दें औरों को सुख होय’

राज्य व्यवस्था सञ्चालन गर्ने व्यक्ति चन्द्रमा जस्तो शीतल तर उज्यालो दिने हुनु पर्दछ । यो विश्वसत्य कुरा हो । यहाँ त ०१७ साल फर्काउन खोज्ने भूतहरू पनि प्रशस्तै छन् भन्ने कता–कता बुझिन्छ । जस्तो कि, मन्त्रीले हुकुमी शैलीमा आदेश गर्ने कुरालाई ‘मिलेन त हजुर’ भन्दा पनि जागिरबाट हात धुनुपरेको कुरा कम मार्मिक छैन । प्रशिद्ध भारतीय कवि अब्दुल रहीम खान अकबर बादशाहको दरबारका प्रसिद्ध कवि थिए । उनले दोहामा लेखेका छन्–

‘रहिम राज सम्हालिए शशि सम सुखदो होय
कहुँ वापुरो भानु जो तन्यो तडैपन खोय’

यिनै रहिमले बादशाहलाई ब्यङ्ग्य गरेका थिए, उनी पुरस्कृत समेत भएका थिए । यस्तो ब्यङ्ग्य गर्दा यहाँ त जेल जानु पर्दछ । डा. तुलसी गिरी केटी भनेपछि हुरुक्कै हुन्थे रे भनने पनि देखियो । यस्ता चारित्रिक भ्रष्टाचारकिो कुरा के लेख्नु ‘भैँसीको दूध खाएर राँगाको बुद्धि !’

धेरैजसो कुरामा लेखकसँग सहमत भएपनि छालको अनुच्छेद ३२ सँग भने केही सहमत हुन सकिनँ । स्व. गिरिजाप्रसाद कोइरालालाई यो देशको दुर्गतिको जिम्मेवार ठहऱ्याउनु र उहाँले त्यही अनुच्छेदमा गिरिजालाई निडर, हक्की स्वभावका साहसिक व्यक्ति भन्नुभएको छ । कुरा साँचो हो । गिरिजा पक्कै हक्की र निडर हुनुहुन्थ्यो । देशमा गणतन्त्र हुलेको कुरा पनि हजम भएन । मनपरीतन्त्र, भाँडतन्त्र भएको यस मुलुकमा गणतन्त्र आवश्यक थियो । माओवादीलाई सिंहदरबारको अट्टालिकामा राज गर्न बोलाउनु महानता थियो । राज्य व्यवस्था पाउनलाई लडाइँ गर्ने त चलन नै थियो । मान्छे मारेर रगतको होली परापूर्व कालदेखि खेलेकै हुन् । राव्यस्वार्थका लागि शेरबहादुर शाहले रणबहादुर शाहलाई च्वाट्टै पारेकै हुन् । राणा जंगबहादुरले कोतमा मान्छे सखाप पारेकै हुन् । झापा बिद्रोहका नाममा कतिले मान्छे गिँडेकै हुन् । र, माओवादी द्वन्द्वमा पनि हजारौँको रगत बगेकै हो । यति मात्र नभई राजा वीरेन्द्रको बंश विनास भएकै हो । यो सबै राज्य सत्ता–सुखकै लागि हो । यति हुँदा पनि सरकार निरीह रहनुचाहिँ कायरता हो । गिरिजाप्रसादजस्ता व्यक्ति त्यतिबेला नभएका भए व्यक्तिहत्या मात्र नभई लोकतन्त्रकै हत्या हुने निश्चित थियो ।

पुस्तकमा पुस्तककारले धेरै कुरा अनुभव पस्कने प्रयास गर्नुभएको छ । तर, पाठकले पढेर चिन्तन–मनन गर्नुपर्ने कुरा भने पुस्तकको पछाडिको भागमा पनि अटाएजस्तो लाग्छ । जे होस्, इलाममा जन्मेर कर्मथलो काठमाडौं बनाएका शर्र्माजी, डाक्टर भन्ने सपना बोक्दा वरिष्ठ पत्रकार बन्नुभएछ । चित्रकारले बडो मिहिनेत गरेर गणेशको चित्र बनाउँदा हनुमान भएजस्तै । तात्कालिक श्री ५ को सरकार, प्रजातान्त्रिक सरकार, गणतान्त्रिक नेपाल सरकारबाट एउटा बुढो बाहुनको छोराले अलिकति पनि मानवीय संवेदना प्राप्त गर्न नसकेको देखियो ।

अन्तमा श्री दुर्गानाथ शर्माजीको ‘छाल’ पुस्तक हेरेर मनमा लागेको लेख्दै गर्दा मृत्यु शय्यामा सङ्घर्ष गरिरहेको एक निरीह प्राणी डा. केसीको स्वास्थ्यको चिन्ता गर्दै लेखनी बिसाउन चाहन्छु । अस्तु ।

– झापा