जनस्वास्थ्य तथा वातावरण केन्द्र (सिफेड) र लिडर्स नेपालले लेडको विषबाट बचावटका लागि अन्तराष्ट्रिय सचेतना सप्ताह, २०७४ कार्तिक ५ देखि ११ गतेसम्म मनाउने भएका छन् ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले साताव्यापाी सचेतना सप्ताह मनाउने जानकारी गराएको हो ।
संस्थाका कार्यकारी निर्देशक रामचरित्र साहले उक्त सप्ताहको बारेमा जानकारी गराउँदै भने, ‘लेडयुक्त पेन्टस्को उन्मुलन गर्न गराउन सबै सम्बन्धित सरोकारवाला निकायहरुसँगै पेन्टस् उद्योगी, व्यापारी र आम उपभोक्तालाई आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अनुरोध गर्दछु ।’
लेडले मानव स्वास्थ्यमा त्यसमा पनि खासगरी बालबालिकाको शारिरिक, मानसिक र बौद्धिक विकासमा नै नकारात्मक असर पार्ने भएकोले यसको उन्मुलन गर्न आजको आवश्यकत्ता रहेको साहले स्पष्ट पारे ।
कार्यक्रममा नेपाल ग्रिल तथा स्टिल व्यवासायी महासंघका अध्यक्ष मोहन कटुवालले लेड नमिसाईकन रंगहरु उत्पादन गरि उही पैसामा विक्रि गर्नपनि सकिने बताउँदै सबै उद्योगी व्यवसायीहरुले पनि लेडमुक्त पेन्टस् र अन्य सामाग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण र प्रयोगको प्रर्वद्धनमा जोड दिएका थिए ।
कटुवालले सिसामुक्त नेपाल निर्माणमा लाग्नको लागि सबैलाई आग्रह गरेका छन् । उनले भने, ‘सिसामुक्त नेपालको परिकल्पना हामीले गरेका छौँ, यस कल्पनालाई सुन्दर बनाउन र सफल बनाउनको लागि पत्रकार, समाजका हरेक व्यक्तिले साथ दिनुपर्छ, यसरी हामी मिलेर सिसा मुक्त नेपालको निमार्णमा लाग्यौ भने भविष्यका बालबच्चाहरुको भविष्य सुन्दर हुन्छ ।’
उनले अघि थपे, ‘घरलाई सुन्दर र चिप्लो बनाउनको लागि हामीले प्रयोग गरेको रंगमा मिसाओट भएको सिसालाई सहजै बुझ्न र जान्न सक्दैनौ, त्यसको प्रभाव रोक्नको लागि सचेतना चाहिन्छ, त्यसैले लेडको विषबाट बच्नको लागि अन्तराष्ट्रिय सचेतना सप्ताह २०१७ मा भाग लिएर साथ दिनको लागि हार्दिक आग्रह गर्दछु ।’
आयोजक संस्थाद्धारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले लेड (सिसा) लाई विश्वब्यापीरुपमा जनस्वास्थ्यलाई असर पुर्याउने प्रमूख १० रसायनहरु मध्ये एक प्रमूख घातक रसायनको रुपमा पहिचान गरेको छ भने मानव शरीरमा लेडको कुनै शुरक्षित मात्रा हुदैन भने तथ्य पनि स्थापित गरेको छ, लेडले मानिसको र खासगरी बालबालिकाको शारीरीक, मानसिक तथा बौद्धीक विकासमा असर पुर्याउँछ । लेडको सम्पर्कबाट हुने दिर्घकालिन स्वास्थ्य सम्बन्धि समस्याहरुले बर्षेनी ८ लाख मानिसको मृत्यू हुने गरेको छ ।’
प्रतिक्रिया