मनाङ छाडेर देव गुरुङ किन आए लमजुङ ?

मनाङ छाडेर देव गुरुङ किन आए लमजुङ ?


– छविलाल बगाले

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रका नेता देव गुरुङले लमजुङबाट उम्मेदवारी दिएका छन् । गृहजिल्ला मनाङ छोडी गुरुङले लमजुङबाट उम्मेवारी दिएको सन्दर्भ यतिबेला रोचक जिज्ञासाको विषय बन्न पुगेको छ ।

०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा मनाङबाट चुनाव जितेका गुरुङ माओवादी र एमालेको साझा उम्मेदवारका रुपमा यसपटक लमजुङ आएका हुन् । ‘एकपटक देव गुरुङलाई हेर्नुपर्छ’ भन्दै आफूहरूले भोट दिएको भन्ने मनाङका मतदाता पछिल्लो समय उनिप्रति अत्यन्त रुष्ट भएका छन् । मनाङबाट चुनाव जितेका गुरुङ कानुनमन्त्री समेत भएका थिए । तर, मन्त्री हु्ँदा पनि जिल्लामा खासै जनता रिझाउने खालका काम गर्न नसकेका कारण गुरुङ आफ्नै लाजले मनाङबाट उम्मेदवारी नदिई लमजुङ पुगेको मतदाताहरु बताउँछन् । वास्तवमा पराजयको त्रासकै कारण उनले निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन् भन्न सकिने विभिन्न आधार छन् ।

‘प्रत्यक्ष देखिने र जनताले महसुस गर्ने गरी गुरूङबाट कुनै काम भएको छैन’, एक मतदाताले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘एकपटक देवजीलाई हेर्नुपर्छ भन्दै सबैले भोट हाल्यौं, उनी मन्त्री भए, मोहन बैद्यसँग मिले अनि कार्यकर्ता बिर्सिए, यस्ता व्यक्ति किन आउने मनाङमा चुनाव लड्न ?’

संसद विकास कोष र क्षेत्र विकास कोषबाट चुनावी क्षेत्रमा सांसदले बाँड्न पाउने बजेट पनि कनिका छर्किएझैँ भएको मतदाताहरुको गुनासो छ । मनाङको नासोङ–४ ओडारका स्थायी बासिन्दा रहेका गुरुङले सांसद र मन्त्री भएका बेला दुर्गम जिल्ला मनाङका जनता रिझाउने काम नगरेका कारण आफ्नै लाजले लमजुङ गएको आरोप उनिमाथि लागेको छ ।

पार्टीले यसअघि गुरुङलाई कास्की–१ बाट चुनाव लडाउने निर्णय गरे पनि एमाले नेता खगराज अधिकारी नमानेपछि गुरुङलाई लमजुङमा व्यवस्थापन गरिएको हो । उनकै कारण एमाले कास्कीभित्र तनावको स्थिति उत्पन्न भएको थियो । स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुले जिल्लामा क्रियाशील नेताहरुलाई अवसर नदिई गुरुङलाई उम्मेदवार बनाइन लागेकामा चर्को असन्तुष्टि पैदा भएको थियो ।

मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादीमा रहेका कारण गुरुङ दोस्रो संविधानसभा निर्वाचन बहिष्कार अभियानमा समेत लागेका थिए । तर, संविधान जारी हुनु अगावै उनी माओवादी केन्द्रमा फर्किएका थिए ।

घर्तीसँगको प्रतिष्पर्धा गुरुङका लागि ‘फलामको चिउरा’
लमजुङमा संघीय संसदका लागि एउटा मात्रै सिट छ । यहाँ कांग्रेसले पुराना नेता दिलबहादुर घर्तीलाई चुनावी मैदानामा उतारेको छ भने एमाले माओवादीको वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देव गुरुङलाई उम्मेदवार बनाएको छ ।

०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा एमालेका केन्द्रिय सचिव समेत रहेका पृथ्वीसुब्बा गुरुङले कांग्रेसका चन्द्रबहादुर कुँवरसँग हार्नुप¥यो । यस कारण पनि देव गुरुङलाई लमजुङमा प्रतिनिधिसभाको लागि उम्मेदवार बनाइएको हो । बाम गठबन्धनले मनाङका गुरुङलाई लमजुङमा उम्मेदवार बनाएपछि एमाले लमजुङका नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन् भने भित्रभित्रै गोप्य रणनीतिमा जुटेको बुझिएको छ ।

उता, कांग्रेसबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा ओर्लिएका दिलबहादुर घर्तीले जिल्लाका मतदाताहरुको मन जितिरहेका छन् । लामो समयसम्म केन्द्रको मुलधारमा बसेर कांग्रेसको राजनिति गर्दै आएका उनी आफूले सजिलै चुनाव जित्ने बताउँछन् ।

लमजुङमा आगामी निर्बाचनका लागि एक लाख १५ हजार चार सय ४९ मतदाताले मत दिनेछन् । जिल्लामा यसपटक एक सय २३ मतदानस्थल तय भएका छन् । तिनमा एक सय ६५ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले बताए ।

जीएमआरका विरोधी थिए गुरुङ
लमजुङ र मनाङको सीमानामा निर्माण गरिन लागेको ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत आयोजनाको विरोधि थिए (तत्कालिन बैद्य समूहका नेता) देव गुरुङ । मुलुकको स्वाधीनता र राष्ट्रियताको नारा दिएर गुरुङले यो आयोजनाको डिपिआर नै रोकेका थिए ।

गृहजिल्ला मनाङ गएका बेला गुरुङले पटक–पटक जलविद्युत आयोजना निर्माण गर्न नदिने हवला दिदै आएका छन् । यो आयोजना निर्माण भएमा लमजुङ र मनाङका हजारौँ युवाहरूले रोजगारी पाउने थिए ।