फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि आलम छिरे एमालेमा

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि आलम छिरे एमालेमा


नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा विलय भएपछि उक्त पार्टीका सहमहामन्त्री मुस्तक आलम नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार उनलाई पार्टीमा प्रवेश गराउदै स्वागत गरेका हुन् ।

अध्यक्ष विजयकुमार गच्छदारले पार्टी कांग्रेसलाई बुझाएकोले आफू एमालेमा प्रवेश गरेको आलमले बताए । पुराना कांग्रेसी नेता शेख इद्रिसका नाति आलम आफ्ना मामा तथा कांग्रेसका नेता मोहमद अफताव आलमसँगको ‘शत्रुता’ का कारण एमाले प्रवेश गरेका हुन् । उनको मामा आलमसँग राम्रो सम्बन्ध छैन ।

गत संविधान सभा निर्वाचनमा उनी विजय गच्छदार नेतृत्वको मधेसी लोकतान्त्रिक फोरम प्रवेश गरेर आफ्ना मामाविरुद्ध रौतहट-२ बाट संविधान सभा सदस्यको चुनाव लडेका थिए ।

उनले अफताव आलमलाई उनकै निर्वाचन क्षेत्रमा हराएपछि मामा-भान्जाबीचको ‘शत्रुता’ झनै चर्किएको थियो । रौटहटमा शेख इद्रिसको राजनीतिक विरासत उनका भतिजा अफताव आलमले सम्हाल्ने कि उनका छोरीपट्टिका नातिले सम्हाल्ने भन्ने झगडा छ ।