आजदेखि छठ पर्व सुरु

आजदेखि छठ पर्व सुरु


सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि तराईका जिल्लाहरुमा सुरु भएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा ब्रतालुले आज स्नान गरी चोखो खाएर बस्ने गर्दछन् । यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । चतुर्थीको कर्मलाई ‘अरबाइन वा अरबा’ भनिन्छ ।

मनोकांक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्दछन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व ०४६ पछि काठमाडौँलगायत पहाडका केही जिल्लाहरुमा पनि मनाउन थालिएको छ ।

यो पर्व मनाउनका लागि तराई क्षेत्रका स्थानियले शुरुवातीमा पोखरी, नदी, तलाउहरुलाई सरसफाई गर्ने र सिंगार्ने कार्य सुरु गरेका छन् ।

षष्ठीको दिन व्रत वस्नेहरु निराहार रही साँझ पवित्र कपडा लगाई पोखरी, नदी, तलाउ निर अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवा, केरा फलफुल, पान, सुपारी उखु आदिले अध्र्य दिई पूजा गरिन्छ । यसलाई साँझको अर्घ भन्ने गरिन्छ ।

भोलीपल्ट पनि पहिलेको नै उपकर्म गरि उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । त्यसलाई पारण भन्ने गरिन्छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको वेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व मनाइने गरिन्छ ।

कार्तिक शुक्लपक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्ष पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । उनका अनुसार सूर्यपूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवम् अविवाहिताले सुयोग्य वरबधु प्राप्तिको कामना गर्छन् ।