वागीले उम्मेदवारी फिर्ता नलिए एमाले-माओवादी ‘एक्सन’ लिने

वागीले उम्मेदवारी फिर्ता नलिए एमाले-माओवादी ‘एक्सन’ लिने


बाम गठबन्धनविरुद्ध प्रतिनिधि सभा र प्रदेश सभामा वागी उम्मेदारी दिने आफ्ना नेता कार्यकर्तालाई पार्टी अनुशासनको कारवाहीमा पर्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका केही असन्तुष्ट नेता कार्यकर्ताहरुले हुम्लामा वागी उम्मेदवारी दिएका छन् । पार्टीको आधिकारीक उम्मेदवार छिमि दोर्जे लामाबिरुद्ध पूर्व मन्त्री छक्कबहादुर लामाले र सोनाग्याल्जन लामाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन् ‘पहिला हुम्ला पुरा माओवादीले लिने भनेको थियो । पछि अर्को जिल्लापनि मिलाउनु पर्ने भएकाले छोड्नुप¥यो । त्यहि कारण केहि साथीले उम्मेदवारी दर्ता गराएका छन् । तर, फिर्ता लिनुहुन्छ । यदि लिनुभएन भने पार्टीले कारवाही गर्छ ।’

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगश भट्राईले भने ‘साथीहरुले कहि थाहा नभएर यस्तो गरेका हुन सक्छन् । उहाँहरुले पार्टीको अनुशासन मान्नुहुन्छ र आफ्नो उम्मेदवारी फिर्ता लिनु हुनेछ । यदि जसले लिदैन, त्यसलाई पार्टीले कारवाही गर्छ ।’

भट्राईले अहिले देश र जनताको हितलाई ध्यानमा राखेर वाम गठनबन्धन बनाएको बताए । उनले भने, ‘यसले गर्दा केहि साथीहरुलाई तलमाथि लागेको हुनसक्छ । तर त्यस्तो हुन दिइदैन सबैलाई उचित व्यवस्थापन गरिनेछ ।’ एमालेले यसअघि स्थानीय तह निवर्नचनमा वागी उठ्ने उम्मेदवारलाई पनि कारवाही गरेको थियो ।

नेकपा एमालेमा पनि गठबन्धन र स्थायी समितिको निर्देशन विपरित धेरै वागी उम्मेदवार उठेका छन् । जाजरकोटमा वाम गठबन्धनले केन्द्रका लागि साझा उम्मेदवार बनाएका शक्ति बस्नेतबिरुद्ध एमालेका गोविन्द्रविक्रम शाहीले उम्मेदारी दर्ता गराएका छन् ।

मनाङमा एमालेबाट टिकटका लागि सिफारिस भएपनि अन्ततः टिकट नपाएपछि राजिव गुरुङ‘दिपक मनाङे’ले पनि वागी उम्मेदवारी दिएका छन् । मनाङेले एमालेको झण्डासहित उम्मेदवारी दर्ता गर्न गएका थिए ।

बझाङमा पनि वामगठबन्धनका उम्मेदवारबिरुद्ध उम्मेदवारी परेको छ । एमालेकातर्फबाट केन्द्रका उम्मेदवार भैरबबहादुर सिंहबिरुद्ध एमालेकै गोपाल खडकाले उम्मेदारी दिएका हुन् । प्रदेश सभा ‘क’ मा एमालेका अर्जुन थापाबिरुद्ध एमालेकै शेरबहादुर बोहरलाले उम्मेदवारी दर्ता गराएका छन् ।