को हुन् नवनियुक्त रापुप्रा-प्रमुख भुसाल ?

को हुन् नवनियुक्त रापुप्रा-प्रमुख भुसाल ?


विनाशकारी भूकम्प गएको तीस महिना बितिसकेको छ । भूकम्पपीडितहरु तेस्रो हिउँदको संघारमै छन् । यो हिउँदको चिसो पनि पाल र खुल्ला स्थानमै काट्नुपर्ने भयले हजारौँ पीडितका मुटू अहिल्यै कठ्यांग्रिसकेका छन् । तर यस्तो विडम्बनाकै बीच तीन वर्ष नबित्दै चौथो पटक पुनर्निर्माण प्राधिकरणको सिईओ परिवर्तन गरिएको छ । आखिर भूकम्पपीडितको समस्या जहाँको त्यहीँ रहने प्राधिकरणको प्रमुख मात्रै फेरिरहने उपक्रम किन चल्छ ? पक्कै पनि भूकम्पपीडितलाई राहत र गाँसबासको नाममा शासन सत्तामा हालीमुहाली भएकाहरुले नै लाभ उठाइरहेको अनुमान गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका विगतका प्रमुखहरुले जस्तै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पनि तीन महिनामै परिणाम निकाल्ने गरी काम गरिने दाबी गरेका छन् । भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय मन्त्रिपरिषद्ले गरेलगत्तै पूर्वसचिव समेत रहेका भुसालले सरोकार भएका सबै निकायलाई समन्वय गरी आगामी माघ २ गतेको भूकम्प दिवससम्ममा देखिने परिणाम निकालिने प्रतिबद्धता जनाए । प्राधिकरणमा भइरहेका कामलाई द्रुत गति प्रदान गर्दै भूकम्पपीडितका घर र ऐतिहासिक सम्पदाको पुनःनिर्माणलाई एकसाथ अगाडि बढाउने योजना उनले सुनाए पनि पीडितजनमा आशा भने जाग्न सकेको छैन । गर्छु भन्ने तर पछि आफ्नै लागि या नेताहरुको लागि मात्र गर्ने प्रवृत्ति देख्दै भोग्दै आएका भूकम्पपीडितमा निराशा कायम रहनु अस्वाभाविक पनि छैन ।

तथापि, नयाँ सिईओले भनेका छन्, राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु, भूकम्पपीडितको घर निर्माण सम्पन्न गराई मुहारमा खुशी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ ।

यसअघि अर्थसचिवबाट सेवानिवृत्त भुसालले विभिन्न मन्त्रालयमा अनुभव सँगालेका छन् । अर्थसचिवबाट सेवानिवृत्त भएपछि भुसाल कर्मचारी प्रशिक्षण प्रतिष्ठामा अध्ययन निर्देशक नियुक्त भएका थिए । २०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका भुसालले २०४३ सालमा सहायक सचिव हुँदै २०५० सालसम्म विभिन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरेका थिए। विसं २०५४ मा सहसचिव भएपछि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा एक वर्ष, अर्थ मन्त्रालको बजेट महाशाखामा चार वर्ष र परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाली महावाणिज्य दूतावास कोलकातामा तीन वर्ष महावाणिज्यदूत भई काम गरेको अनुभव उनीसँग छ ।

विसं २०६५ मा सचिवमा बढुवा भएका भुसालले २०७१ साउनसम्म भूमिसुधार, प्रशासन पुनःसंरचना आयोग, वन तथा भूसंरक्षण र अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगमा काम गरे । विशेषगरी वातावरण, प्राकृतिक स्रोत व्यवस्थापन, स्थानीय सरकार तथा विकेन्द्रीकरण, लैंगिक समानता, विकास योजना र गरिबी निवारणको क्षेत्रमा दखल राख्ने भुसाल अर्थशास्त्रमा पनि ज्ञान राख्छन् । अफगान सरकारले आह्वान गरेको विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर एक वर्ष अफगानिस्तानको अर्थ मन्त्रालयमा बजेट सल्लाहकार भई काम गरेको अनुभवसमेत भुसालसँग छ ।