विगतमा झै धोका नदिन एमाले लमजुङले गर्‍यो माओवादी केन्द्रसँग अनुरोध

विगतमा झै धोका नदिन एमाले लमजुङले गर्‍यो माओवादी केन्द्रसँग अनुरोध


गत स्थानिय निर्बाचनमा माओवादीसँग तालमेल गरी धोका खाएको एमाले लमजुङले माओवादी केन्द्रका जिल्ला नेताहरुलाई यो पटक धोका नदिन आग्रह गरेका छन् । माओवादी कै कारण स्थानिय तहको निर्बाचनमा केही समस्या पैदा भएको भन्दै एमाले लमजुङले जिम्मेवार बन्न माओवादी केन्द्रसँग यस्तो अनुरोध गरेको हो ।

जिल्लामा वाम गठबन्धनले मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्बाचनमा बहुमतका साथ चुनाव जित्ने दावी गरेका छन् । वाम गठबन्धनकोतर्फबाट आयोजित संयुक्त पत्रकार भेटघाटमा एमाले र माओवादी केन्द्रका नेताहरुले गठबन्धन चुनावका लागि मात्रै नभएर एकीकरणका लागि भएको भन्दै आफूहरुलाई मतदाताले बहुमतका साथ विजयी गराउने दावी गरेका हुन् ।

प्रतिनिधिसभाका उम्मेदवार एवम माओवादी नेता देवप्रसाद गुरुङले अहिलेको आवश्यकता एउटै कम्युनिष्ट पार्टी भएको भन्दै देशमा स्वाधिनता र समृद्ध नेपाल निमार्ण गर्न बाम एकता भएको बताए । निर्वाचन सकिएपछि पार्टी एकता गरिने र निर्वाचनको नतिजाले नै एकताको वाटो तय गर्ने गुरुङको भनाई छ ।

यस्तै, नेकपा एमालेवाट प्रदेश सभा ‘ख’ का उम्मेदवार एवम केन्द्रीय सचिव पृथ्वीसुव्वा गुरुङले विचार, सिद्धान्त र गन्तव्य मिल्ने पार्टीहरुका बीचमा एकीकरण गरिएको बताए । ‘सुखी नेपाली र समृद्ध नेपाल’ बनाउनका लागि नेकपा एमाले र माओवादी केन्द्रविच सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । आफू केन्द्रीय नेता भएको र सांसद बन्नकै निम्ति चुनावमा भाग लिन नपर्ने हुँदा हुँदै पनि प्रदेश नम्बर ४ र लमजुङको समृद्धिको लागि उम्मेदवारी दर्ता गराएको बताए ।

त्यस्तै, प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. ‘क’ मा वाम गठबन्धनबाट नेकपा एमालेबाट उम्मेदवार बनेका एमाले जिल्ला अध्यक्ष धनन्ञ्जय दवाडीले आर्थिक समृद्धि र देशलाई दिर्घकालिन निकास दिन वाम गठबन्धनको विजय अनिवार्य रहेको बताए ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागी चुनावी एकता गरेको नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लमजुङले संयुक्त रुपमा चुनावी प्रचार प्रसार अभियान गर्ने भएका छन् ।

स्थानिय तह निर्वाचनमा समेत चुनावी एकता गरेका दुई बामघटकले संयुक्त रुपमा चुनावी अभियान गरेका थिए । सोचेअनुरुपको नतिजा नआएको भन्दै अवको निर्वाचनमा पहिलाका कमि कमजोरीहरुलाई सच्याएर लमजुङमा बामगठबन्धनलाई विजयी गराउने प्रतिबद्धता समेत गरेका छन् ।