बैतडीमा नयाँशक्तिले बाम गठबन्धनलाई सघाउने

बैतडीमा नयाँशक्तिले बाम गठबन्धनलाई सघाउने


आसन्न निर्वाचनका लागि केन्द्रमा लोकतान्त्रिक गठबन्धनमा सामेल भएकोे बाबुराम भट्टराईको नयाँशक्ति पार्टीले बैतडीमा भने बाम गठबन्धनलाई सहयोग गर्ने भएको छ । एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच हिजो सोमबार बसेको बैठकपछि नयाँ शक्तिले यस्तो निर्णय गरेको हो ।

एमालेका जिल्ला सचिव लीलाधर भट्ट, माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट र नयाँशक्तिका जिल्ला संयोजक कृष्णप्रसाद बडूद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा उपयुक्त समयमा जिल्लास्तरमा पार्टी एकीकरण गर्ने समेत उल्लेख गरिएको छ ।

नयाँ समाजवादी क्रान्तिको माध्यमबाट देशको विकासका लागि प्रगतिशील बामशक्ति एक हुनुपर्ने सो विज्ञप्तिमा उल्लेख गरिएको छ । योसँगै एमाले र माओवादी केन्द्रको बाम गठबन्धनमा नयाँशक्ति पार्टी मिसिएको छ ।

यसैगरी पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा दुई गठबन्धनबाट वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा होमिएका छन् । हाल देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार कांग्रेस नेता नरबहादुर चन्द प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएका छन् भने बाम गठबन्धनबाट साझा उम्मेदवार रहेको नेकपा (एमाले)का नेता पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी उनको प्रतिष्पर्धी बनेर अघिसरेका छन् । भण्डारी केपी ओली प्रधानमन्त्री रहँदा अर्थ राज्यमन्त्री थिए ।

यी दुबै राजनीतिक पात्र यसअघि विसं २०७० मा सम्पन्न भएको संविधानसभा निर्वाचनमा बैतडीबाट निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनको बेला बैतडीमा २ निर्वाचन क्षेत्र रहेका थिए । भण्डारी क्षेत्र नं १ बाट विजयी भएका थिए भने चन्द क्षेत्र नं २ बाट।

यसरी दुवै पुराना खेलाडी र गठबन्धनका उम्मेदवार भएकाले यसपटक कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । दुवै उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।