गोलो घेराभित्र छाता चुनाव चिह्न रहेको जनशक्ति नेपाल पार्टी राष्ट्रिय जनता पार्टीमा गाभिने भएको छ । राजपा नेपाल र जनशक्ति नेपाल पार्टीका नेताहरुबीच दुवै पार्टी एकीकरण गर्ने सहमति भएको हो । सहमतिमा जनशक्ति पार्टीका अध्यक्ष रामकुमार ओझालाई एक नम्बर उपाध्यक्ष तथा पार्टीका सम्पुर्ण केन्द्रिय समिति सहित सबै नेता कार्यकर्ताहरुलाई सम्मानजनक स्थानमा समावेश गर्ने सहमति भएको छ ।
राजपा महासचिव चन्दा चौधरीको विशेष पहलमा पटक–पटक भएको अनौपचारिक छलफलपश्चात मंगलबार भएको बैठकपछि यो सहमति भएको हो । बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष राजेन्द्र महतो, उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला र जनशक्ति पार्टीका अध्यक्ष ओझा र उपाध्यक्ष भरत कोइरालाको सहभागिता रहेको थियो ।
केन्द्रिय र प्रादेशिक प्रत्यक्ष उम्मेदवार तथा समानुपातिक सांसद सुचिमा समेत जनशक्ति नेपालका नेता कार्यकर्ताहरुलाई पनि समावेश गर्ने र जनशक्ति पार्टीको चुनाव चिह्न गोलो घेराभित्र रहेको छाता खारेज गरी राजपा नेपालको छाता कायम गर्न निर्वाचन आयोगलाई पत्र लेखिने सहमति भएको छ ।
घटना र विचारसंगको कुराकानीमा महासचिव चौधरीले यो एकीरकणपछि अब दुई ओटा छाता चुनाव चिह्नको झमेला हटेको दाबी गरिन् । ‘दुईओटा छाता चिह्नका कारण जनतामा दोधार पैदा हुन्थ्यो तर अब त्यस्तो हुने छैन’ उनले भनिन् ‘अब एउटा मात्र छाता चुनाव चिह्न हुनेछ र यो एकीकरणले मतदाताहरुमा उत्साहजनक रुपले मतदान गर्न उर्जा मिल्नेछ ।’
दुवै पार्टीबीचको एकीकरण सम्झौता पत्र तयार गर्दै अउँदो बिहिबार राजपा पार्टी कार्यालयको प्राङ्गणमा एक विषेश कार्यक्रम गरि यसको औपचारिक घोषणा गरिने जनशक्तिका अध्यक्ष ओझाले बताए ।
प्रतिक्रिया