ठूला शहरमा बधशाला निर्माण गर्दै हेफर इन्टरनेशनल

ठूला शहरमा बधशाला निर्माण गर्दै हेफर इन्टरनेशनल


हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले मुलुकका ठुला शहरहरुमा समेत व्यवस्थित बधशालाहरु नभएको टिप्पणी गर्दै आगामी दिनमा हेफरले ठुला शहरमा व्यवस्थित बधशाला निर्माण गर्ने योजना अगाडि सारेको बताएका छन् । बुटबलमा भएको एक कार्यक्रममा बोल्दै डा. रेग्मीले मासुका कारण मानिसमा धेरै किसिमका रोग सर्ने हुदा त्यस्ता रोगबाट बच्न स्वस्थकर मासु खानुपर्ने कुरामा जोड दिए ।

सँुगुर तथा बंगुरको मासुबाट ब्रेनट्युमर प्रकृतिका रोग लाग्ने गरेको बताउँदै उनले त्यस्ता रोगको संक्रमणबाट जोगाउन हेफरले व्यवस्थित बधशालाको अवधारणा अगाडी सारेको उल्लेख गरे । डा. रेग्मीले पाँच जनाको परिवारको जिविकोपार्जनका लागि सामान्यतया बार्षिक आम्दानी तीन लाख ९० हजार आवश्यक पर्ने बताउँदै आगामी दिनमा हेफरले त्यसैलाई लक्षित गरी आयआर्जन वृद्धि गर्ने खालका कार्यक्रम अघि बढाउने जानकारी दिए ।

मुलुकका ४० जिल्लामा गठित हेफर ईन्टरनेशनका दुई सय नौं सहकारीमार्फत दुई लाख ६० हजार परिवारमा कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गर्दै रेग्मीले हेफरको अबको कार्यक्रम सहकारीको सवलीकरण र कृषकद्धारा उत्पादित बस्तुको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिनु रहेको उल्लेख गरे ।

नेपालमा पछिल्लो समय मासुको लागि खसि बोकाको उत्पादन बढे पनि माग पनि बढ्दै जाँदा खसीबोकाको आयात प्रतिस्थापन हुन नसकेको बताउँदै नेपालमा हाल एक करोड १० लाखको संख्यामा खसीबोकाको स्टक रहेको उनले जानकारी दिए ।