मधेसकेन्द्रित दललाई तीन भाग दिएर एक भागमा चित्त बुझाउँदै काङ्ग्रेस !

मधेसकेन्द्रित दललाई तीन भाग दिएर एक भागमा चित्त बुझाउँदै काङ्ग्रेस !


प्रदेश नम्बर दुईका ३२ निर्वाचन क्षेत्रमा कम्युनिस्ट गठबन्धनलाई ‘शून्य’मा पुर्‍याउन काङ्ग्रेस, राजपा र सङ्घीय फोरमका नेताहरू प्रतिबद्ध भएका छन् । हिजो मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले उक्त प्रतिबद्धता गरेको हो । बैठकमा तीनवटै पार्टीका प्रभावी र मुख्य नेताहरूलाई हरहालतमा चुनाव जिताउने अनौपचारिक सहमति पनि बनेको छ ।

यो सहमतिबाट काङ्ग्रेसका विमलेन्द्र निधि तथा राजपाका राजेन्द्र महतो र महेन्द्र राय यादवले राहत महसुस गरेको बुझिएको छ । उल्लिखित तीनैजना नेताहरू स्वतन्त्र प्रतिस्पर्धामा विजयी बन्न नसक्ने मानिन्छन् ।

बैठकमा सिटको तालमेलबारे गम्भीर छलफल भएको बुझिएको छ । कुल ३२ स्थानमध्ये राजपाले १२, सङ्घीय फोरमले १२ र काङ्ग्रेसले जम्मा आठ स्थान लिने गरी सहमति गर्न मधेसकेन्द्रित नेताहरूबाट काङ्ग्रेस नेताहरूमाथि दबाब परेको छ । गत स्थानीय निर्वाचनमा प्रदेशको सबैभन्दा ठूलो पार्टी बनेको काङ्ग्रेसलाई आठ सिट मात्र उपलब्ध गराइने प्रस्तावले काङ्ग्रेस नेताहरूलाई अप्ठ्यारो पारेको बताइन्छ ।

तर, मधेसकेन्द्रित नेताहरूले भने सो प्रस्तावमा गह्रौँ मनले भए पनि काङ्ग्रेस ‘सहमत भइसकेको’ ठानेको छ । कदाचित यसप्रकारको प्रस्तावले अन्तिम निर्णयको रूप लिएमा काङ्ग्रेसले २४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दाबी गरिरहेका नेताहरूलाई कसरी व्यवस्थापन गर्न सक्ने हो गम्भीर चासोको विषय बनेको छ । टिकट नपाएको झोंकमा काङ्ग्रेसकै नेताहरू एमालेको तर्फबाट उम्मेदवार बन्न पुगे भने एमालेलाई ‘नील’ गराउने सपना कसरी पूरा हुन सक्ला, प्रश्न उठेको छ ।