बोली र बेथिति नियन्त्रण गर्ने कि ?

बोली र बेथिति नियन्त्रण गर्ने कि ?


कुनै कुरा पाउन पहिले त्यसको कल्पना गर्नुपर्छ र कल्पनामाथि सोचविचार पुर्‍याएर उपाय लगाएपछि चाहेको हासिल हुन सक्छ । यो व्यवहारसिद्ध कुरा भए पनि कल्पना र प्रयत्न गर्दैमा सबै कुरा हात नपर्न सक्छ भन्ने पनि एक तथ्यकै रूपमा स्थापित छ । प्रयत्न गरेर पनि प्राप्त नहुने र कल्पनै नगरे पनि हात पर्ने परिस्थिति या संयोगहरू मानिसका जीवनमा घटित भइरहेका हुन्छन् ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले कल्पनासम्म नगरेको राजगद्दी एक होइन, दुई–दुईपटक हासिल गरे । पहिलोपटक राजा हुँदा उनी नाबालक नै रहेकाले उनी आफ्नै प्रयत्नले राजा भए होलान् भनी सोच्नै मिलेन । पछिल्लोपटक जब उनी नेपालको राजा घोषित हुन पुगे, त्यो पनि उनको चाहनाले नभई अकस्मात् उत्पन्न विशेष घटनाजन्य परिस्थितिका कारण भएको जगजाहेर नै छ । यसरी कल्पना नै नगरी पटक–पटक ‘राजा’ बनेका पूर्वराजा पुनः राजा हुने चक्करमा लागे भन्ने अर्थ लगाउँदै यतिबेला बेग्लै चासो, चर्चा र बहस चलाइएको छ । भाइटीकाका दिन सञ्चारमाध्यममार्फत पूर्वराजाद्वारा दिइएको सामान्य या स्वाभाविक अभिव्यक्तिलाई असामान्य आकार दिएर हौवा फैलाउने प्रयत्न गरिएको छ । कतिपयले पूर्वराजाको बोलीमाथि अङ्कुश लाग्नुपर्ने धारणासमेत प्रकट गरेका छन् भने पूर्वराजाकै बोलीबाट हौसिएर र्‍याली–आयोजनामा उत्रिनेहरू पनि देखिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले मुलुकको वर्तमान राजनीतिक अवस्था र यसले निम्त्याएको निराशादायी परिस्थितिप्रति चिन्ता प्रकट गर्दै सञ्चारकर्मीसमक्ष मुख खोलेका थिए । उनको अभिव्यक्तिको सार थियो, ‘जिम्मेवार नागरिकको नाताले मलाई पनि देशको चिन्ता र चासो छ, मुलुकमा नेतृत्व नै नभएकोजस्तो अवस्था पैदा भएको छ, नेतृत्व या जिम्मेवारी लिन त म पनि तयार छु, तर यसका लागि सबै जनताको इच्छा हुनुपर्छ, मैले चाहेर मात्र हुने कुरा होइन… ।’

यस्तो कुरा गर्दा फेरि सक्रिय भएको आरोप लाग्न सक्नेतर्फ सचेत हुँदै पूर्वराजाले प्रस्ट्याएका छन्, ‘यो सक्रिय र निष्क्रिय हुने कुरा नभई देशको परिस्थितिले मागेको र सचेत नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्ने कि नगर्ने भन्ने सवाल मात्रै हो, जनताले नचाहे त केही हुनै सक्दैन ।’ ‘प्राकृतिक फूललाई नचिन्ने तर कागजीे फूलमा सुगन्ध खोज्ने विडम्बनाबाट हामी गुज्रिरहेका छौँ’ भन्ने उनको अभिव्यक्तिको अर्थचाहिँ राजसंस्था समस्त नेपालीको साझा संस्था भए पनि बाह्य उक्साहटमा उपेक्षा गरियो भन्ने हुन सक्छ । यसलाई पनि अन्यथा या अतिशयोक्ति ठानिरहनु आवश्यक छैन ।

अढाइ सय वर्ष पुरानो संस्थाको एक जिम्मेवार सदस्यका साथै कुनै बेला मुलुकको नेतृत्वसमेत लिएको सचेत पात्र हुनुको नाताले पूर्वराजा ज्ञानेन्द्र शाहबाट यस्तो अभिव्यक्ति आउनुलाई सामान्य रूपमै लिनुपर्ने हुन्छ । तर, एकातिर राजा लोकतन्त्रविरुद्ध सक्रिय हुन लागेको भन्दै अतिरञ्जना गर्न थालिएको छ भने अर्कोतिर राजाले शासन लिएर राजतन्त्र नै ब्युँताउन लागे भनी खुसियाली मनाउने जमात पनि देखिएको छ । यी दुवै प्रवृत्ति निरर्थक छन् । देशले सही नेतृत्व र समृद्धिको दिशा नपाएको कुरा पूर्वराजाले मात्र होइन तमाम नागरिकले औँल्याइरहेकै हुन् । पूर्वराजाले बोल्दैमा तत्काल न राजनीतिक विसङ्गति हट्ने हो न उनलाई राजगद्दी हासिल भइहाल्ने नै हो । मुलुकको परिस्थिति चिन्ताजनक रहेको र ज्ञानेन्द्र शाह नामका नागरिकले पनि देशको चिन्ता गर्न पाउने ‘लोकतन्त्र’ स्थापना भएकाले उनको अभिव्यक्तिप्रति कुनै पनि कोणबाट अतिरञ्जनापूर्ण अर्थ लगाउनु असान्दर्भिक हुनेछ ।

हिजो देशकै निम्ति भार ठानेर खारेज गरिएको संस्था या संस्थाका सदस्यविशेषले समेत जमेर औँला उठाउन सक्ने प्रणाली–पद्धति या विकार–बेथिति हुर्कन पुग्नुचाहिँ बरु विडम्बनाको विषय हो । जो–जसको पहल, प्रयास या चाहनामा भएको भए पनि बलपूर्वक राजसंस्था खारेज गरी गणतन्त्र स्थापना गरिएपछि आमनेपालीमा बेग्लै आशा पलाएको थियो– राजनीतिले सकारात्मक बाटो लिने, देश बच्ने र बन्ने, समृद्ध मुलुकका समृद्ध एवम् सुखी नागरिक भएर बाँच्ने ! यस्तो आशामा दिनानुदिन तुषारापात भएपछि सचेत जनता बोल्ने नै भए । ज्ञानेन्द्र नामका मात्र नभई दीपेन्द्र नामधारी पनि बोल्छ, राम, श्याम, हरि जेसुकै नामका नेपाली नागरिकले पनि लोकतन्त्रमा बेथिति औँल्याउँछ । अब विकृति–बेथिति औँल्याउनेमाथि राज्य जाइलाग्ने कि बेथिति–विसङ्गति अन्त्य गर्न लागिपर्ने ? राज्य या मुलुकको नेतृत्वले नै सोच्ने कुरा हो । बेलैमा मनन गरी सही बाटो हिँड्ने प्रयत्न नगरे शासक–तहले आफ्नो विनाश त निम्त्याउँछन् नै, समस्त नेपालीजन र सिङ्गै देशको भविष्यसमेत चकनाचुर हुन सक्नेछ । आमनागरिक तहले नै सोच्ने कि ?