विप्लवको दलमा पनि पहिरो, एक्लिँदै विप्लव

विप्लवको दलमा पनि पहिरो, एक्लिँदै विप्लव


राष्ट्रवाद र सच्चा क्रान्ति गर्ने दाबीका साथ नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा तीन वर्षअघि गठन गरिएको नेपाल कम्युनिस्ट पार्टीमा ठूलो पहिरो गएको छ । उक्त पार्टीमा आबद्ध दर्जनभन्दा बढी नेताहरूले विप्लवको साथ छोडी माओवादी केन्द्रमै फर्कने निर्णय गरेपछि यो स्थिति उत्पन्न भएको हो ।

प्राप्त जानकारीअनुसार पार्टीका केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा जनस्वयम्सेवक सङ्घका अध्यक्ष झकबहादुर मल्ल सुदीप, केन्द्रीय सदस्य एवम् पार्टीका वाणिज्य सहकारी विभाग प्रमुख शरदसिंह भण्डारी, कोसी अञ्चल इन्चार्जसमेत रहेका पार्टी केन्द्रीय सदस्य राजेन्द्र कार्की नवीन, पार्टी केन्द्रीय कार्यालय विशेष विभागका सचिव एवम् रेडियो मिर्मिरेका डाइरेक्टर पुष्प न्यौपाने, युवा सङ्घका सचिव किरण पोखरेल केशव तथा विद्यार्थी सङ्गठनको केन्द्रीय सचिवालयका सदस्य नवीन उपाध्यायले विप्लव नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा फर्कने निर्णय गरेका छन् ।

त्यसैगरी युवा सङ्घ केन्द्रीय कार्यालयका सचिव रोहित खत्री, जिल्ला शिक्षक सङ्गठन अछामका उपाध्यक्ष बमबहादुर खत्री र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टे«ड युनियनका सचिव रवीन्द्र न्यौपानेलगायत कुल बीसभन्दा बढी नेता विप्लवको साथ छोडेर माओवादी केन्द्रमा समाहित हुन पुगेका छन् ।

पार्टीका मुख्य नेता नेत्रविक्रम चन्दले पार्टीमा वैचारिक मतभिन्नता राख्न नपाइने भन्दै मन मिल्नेहरू मात्र पार्टीमा बस्न सक्ने भनेपछि उल्लिखित नेताहरूले विप्लवको साथ छोडेको दाबी गरेका छन् । पार्टीका केन्द्रीय सदस्य एवम् जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष टेकबहादुर बलाम्पाकीले पनि विप्लवको साथ छोड्ने निर्णय लिएको बुझिएको छ ।
यसरी पार्टीको ठूलो युवा शक्तिले साथ छोडेपछि नेत्रविक्रम चन्दले कसरी ‘क्रान्ति’ सम्पन्न गर्ने हुन्– जिज्ञाशाको विषय बनेको छ ।