महन्थमाथि राजपा नेताहरूको ‘कपटी’ दबाब

महन्थमाथि राजपा नेताहरूको ‘कपटी’ दबाब


बुढ्यौली र रोगका कारण असहज अवस्थामा रहेका राजपा अध्यक्ष महन्थ ठाकुरमाथि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्न दबाब बढेको छ । ठाकुरको नाम पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीको पहिलो नम्बरमा राखिएको छ । ठाकुरपछि राजपा महामन्त्री चन्दा चौधरीको र तेस्रो नम्बरमा एकवाल अहमद साहको नाम समानुपातिक उम्मेदवारका रूपमा प्रस्तावित छ ।

मुटुमा समस्या भएपछि पेसमेकर राखिएको र चिकित्सकले बीस मिनेटभन्दा बढी नबोल्न तथा भ¥याङ नचढ्न सुझाव दिएका कारण अध्यक्ष ठाकुर प्रत्यक्ष उम्मेदवार नबनी समानुपातिकमा बसेका हुन् । तर, विभिन्न दबाब समूहले ठाकुरलाई महोत्तरीको क्षेत्र नं. ३ बाट उम्मेदवाार बन्न दबाब दिइरहेका छन् । यसअघि सर्लाहीको ६ नं. क्षेत्रबाट नेपाली काङ्ग्रेसका डा. अमरेशकुमार सिंहसँग पराजित भएका ठाकुर मधेसको सम्मानित र पुराना नेता भएर पनि संविधान निर्माण प्रक्रियामा विधिवत् सहभागी हुन पाएनन् । संसद्मा उनको आवश्यकता महसुस गर्नेहरूले यसपटक समानुपातिकतर्फबाट भए पनि संसद्मा ठाकुरलाई प्रवेश गराउन चाहेका छन् ।

तर, पार्टीसम्बद्ध केही नेताहरूले महन्थ ठाकुरसमक्ष बारम्बार प्रतिनिधिमण्डल पठाएर प्रत्यक्ष उम्मेदवार बन्न दबाब पैदा गरिरहेका छन् । यसरी ठाकुरको निवास तथा कार्यालयमा बारम्बार ‘डेलिगेसन’ पठाएर दबाब दिनेमा एकवाल अहमद साह, वृशेषचन्द्रलाल र राजेन्द्र महतो रहेको बताइन्छ । यसअघि पनि समानुपातिक सांसद रहेका एकवाल अहमदले महन्थ ठाकुरलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउन सके समानुपातिक सूचीको तेस्रो नम्बरबाट आफू दोस्रोमा सर्ने र सांसद पद सुनिश्चित हुने विश्वासका कारण ठाकुरमाथि दबाब पैदा गरेको बताइन्छ । त्यस्तै वृशेषचन्द्र लालले चाहिँ अध्यक्षले प्रत्यक्ष उम्मेदवार नबने आफू महोत्तरी–३ बाट उम्मेदवार बन्ने आकाङ्क्षाका कारण दबाब पैदा गरेको राजपा सूत्रको भनाइ छ ।

त्यसैगरी राजेन्द्र महतोले चाहिँ ठाकुर प्रत्यक्ष उम्मेदवार बनेमा उनी पराजित हुन सक्छन् र पराजित भएमा ठाकुरले राजनीतिबाट सन्न्यास लिन सक्ने र त्यस्तो अवस्थामा राजपाको मुख्य नेता बन्न पाइने सम्भावनालाई दृष्टिगत गरेर ठाकुरमाथि दबाब पैदा गरेको बताइएको छ । ज्ञातव्य छ, महोत्तरी क्षेत्र नं. ३ बाट प्रत्यक्ष उम्मेदवार बन्न रानी शर्माको नाम एक नम्बरमा सिफारिस भएको छ । रानी उम्मेदवार भएर सो क्षेत्रबाट विजयी बनेमा उनले धेरै लामो समय सक्रिय भूमिका निर्वाह गर्ने भएकोले रानीलाई रोक्नका लागि पनि एकथरीले ठाकुरमाथि प्रत्यक्ष उम्मेदवार बन्न दबाब दिइरहेको बुझिएको छ ।