‘विकासवादी’ र ‘विनाशवादी’बीच नुवाकोटमा रोचक टक्कर

‘विकासवादी’ र ‘विनाशवादी’बीच नुवाकोटमा रोचक टक्कर


निर्वाचनमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुनु स्वाभाविक र आवश्यक मानिन्छ । तर, नुवाकोट जिल्लाको क्षेत्र नं. १ मा काङ्ग्रेस नेता एवम् अर्थविद् डा. रामशरण महत र माओवादी नेता हितबहादुर तामाङबीचको प्रतिस्पर्धालाई रोचक तथा कैयन अर्थमा विशेष मानिएको छ । एमालेभन्दा माओवादी बलियो रहेको उक्त निर्वाचन क्षेत्रमा डा. रामशरण महतले २०७० को निर्वाचनका प्रतिद्वन्द्वी हितबहादुर तामाङसँग नै यसपटक पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

नुवाकोटको आर्थिक तथा भौतिक विकासमा सर्वाधिक योगदान पुऱ्याएको डा. महत र माओवादीको हिंसात्मक द्वन्द्वताक भौतिक संरचनाहरू ध्वंस गर्ने भूमिका निर्वाह गरेका तामाङबीचको प्रतिस्पर्धालाई स्थानीय बासिन्दाले विकासवादी र विनाशवादीबीचको प्रतिस्पर्धाका रूपमा टिप्पणी गर्ने गरेको पाइएको छ । यस निर्वाचन क्षेत्रमा एमालेको स्थिति कमजोर भए पनि माओवादीको राम्रै पकड भएको मानिन्छ र तामाङ समुदायमा हितबहादुर तामाङ लोकप्रिय भएकोले उनले डा. महतलाई राम्रै टक्कर दिने ठानिन्छ ।

कम्युनिस्ट गठबन्धनले उक्त क्षेत्रमा तामाङको विजय हुने विश्वास र विश्लेषण गरेको छ । तर, आममतदातामा भने डा. महत विजयी नहुँदा जिल्लाको विकास गतिमा बाधा पुग्ने चिन्ता देखिएको छ । महतले नुवाकोटको गाउँगाउँसम्म सडक र विद्युतीकरणलगायतका विकासका पूर्वाधारहरू पु¥याएका छन् । मध्यपहाडी राजमार्गको रुट बदली नुवाकोट हुँदै काभ्रेको पाँचखाल जोड्नु, रसुवा नाकाको विकास गरी नुवाकोटलाई आर्थिक गतिविधिको एउटा केन्द्र बनाउनु, गल्छीदेखि देवीघाट, गँगटेदेखि गोल्फुभञ्ज्याङ र छहरेदेखि काठमाडौं टोखासम्मको सडक निर्माण तथा साबिकका प्रत्येक गाविसमा मोटरबाटो पुऱ्याउनु, सातबिसे र खरानीटारलगायत कैयन सिँचाइ आयोजना सम्पन्न गराउनु, सबै गाउँलाई विद्युतीकरण गर्नु, १५ करोड रुपैयाँको लगानीमा डवाँके खानेपानी आयोजना सम्पन्न गरी पाँच गाविसमा खानेपानी समस्या समाधान गर्नु, यसबाहेक अन्य सानातिना खानेपानी आयोजना सञ्चालन गर्नु, छहरे, ढिकुरे, चौघडा, आँपरह, घ्याङफेदी र समुन्द्रटारलगायतका स्थानमा पक्की पुलहरूको निर्माण गराउनुलाई डा. रामशरण महतको मुख्य उपलब्धि र योगदानको रूपमा लिइन्छ ।

डा. महतले नुवाकोट दरबारको पुनर्निर्माणमा चिनियाँ सहायता जुटाएका छन् भने घ्याङफेदी र बेतिनीजस्ता दुर्गम गाउँमा पक्की मोटर बाटो तथा विद्युतीकरणका लागि पनि उनले विदेशी सहायता जुटाएका हुन् । दुई दशकमा नुवाकोटको कायापलट भएको छ र अधिकांश स्थानीय मतदाता महतको विकासपे्रमसँग लोभिएका छन् ।

तामाङलाई विजयी गराउँदा डा. रामशरण महतजस्ता काङ्ग्रेसका ठूलो नेतालाई पराजित गराएको भन्ने क्षणिक खुसीबाहेक केही नमिल्ने ठहर पनि मतदाताले गरेको पाइन्छ । देशको शक्तिशाली राजनीतिक दलको उच्च तहका राष्ट्रिय नेतालाई विजयी नगराएर सानो दलको स्थानीय स्तरका नेतालाई चुनाव जिताउँदा भैपरि आउने समस्याको समाधानमा अप्ठ्यारो पर्ने चिन्ता पनि मतदातामा देखिएको छ । गत स्थानीय निर्वाचनमा प्राप्त मतलाई मात्र आधार बनाउने हो भने नुवाकोटको एक नम्बर क्षेत्रबाट डा. महत विजयी बन्ने सम्भावना देखिँदैन ।

तर, स्थानीय निर्वाचनको परिणाम जे–जस्ता कारणले कम्युनिस्टका पक्षमा गएको भए पनि डा. महतप्रति त्यहाँका मतदाताको बेग्लै प्रभाव र आकर्षण भएकोले विजयको सम्भावना देखिएको हो । तर, समाजवाद स्थापना गर्ने प्रतिबद्धतासहित एकताबद्ध भएका कम्युनिस्टहरूले भने आर्थिक उदारीकरणका प्रवर्तक डा. रामशरण महतको पराजयलाई आफूहरूको नीतिगत विजयका रूपमा लिने देखिएको छ । त्यसैले महतलाई पराजित गर्न उनीहरूले सम्पूर्ण सामथ्र्य लगाउने सम्भावना छ । नुवाकोटका मतदाता विकासवादीका पक्षमा उभिने हुन् या विनाशवादीका पक्षमा, त्यसको जानकारी पाउन अब करिब एक महिना प्रतीक्षा गर्नुपर्ने भएको छ ।