जापान छोडेर गुल्मीमा केराखेती, डेढ वर्षमै दश लाख आम्दानी

जापान छोडेर गुल्मीमा केराखेती, डेढ वर्षमै दश लाख आम्दानी


गुल्मीका एक युवाले जापान छोडेर आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर राम्रो आम्दानी गर्दै आएको कुरा यतिबेला चर्चाको सन्दर्भ बनेको छ । मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय चन्द्रमणि घिमिरेले व्यावसायिक केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा रु १० लाख आम्दानी गर्न सफल भएका छन् । स्थानीय क्षेत्रमा समाजसेवी युवाको पहिचान बनाएका घिमिरेले झण्डै चार रोपनी जग्गामा एक वर्षयता आफ्नै खेतमा रु ४० हजारको लगानीबाट २८० केराको बोट लगाई खेती सुरु गरेका थिए । केराखेती वृद्धि हुँदै झण्डै ८०० केराका घरी उत्पादन भइरहेको हुँदा आउने वर्षमा केराबाट राम्रो आम्दानी हुने राससकर्मी कौरव खत्रीसँगको कुराकानीमा घिमिरेले बताए ।

रोजगारीको सिलसिलामा विदेशका विभिन्न देशमा नौ वर्ष दुःख पीडा भोग्दै पछिल्लो समयमा जापानमा तीनवर्ष बिताएर स्वदेश फर्किई अब आफ्नै गाउँघरमा सानोतिनो व्यवसायको शुरुवातको थालनी गरेको उनको भनाई छ । घिमिरे भन्छन्, ‘युवा विदेश जाने सपना त्यागेर आफ्नै गाउँघरमा सानोतिनो पेसा व्यवसाय गरी आधुनिक कृषि गरेर पनि मनग्य आम्दानी गर्न सकिने रहेछ ।’ थोरै भएपनि आम्दानी आफ्नै ठाउँमा गर्न सकिने हुँदा आफूलेजस्तै अन्य युवालाई आफ्नो सिको गरेर विदेश जानुभन्दा आफ्नै जन्मभूमिमा केही गरेर आत्मनिर्भर भएर बाँच्न सकिने सुझाव उनी दिन्छन् ।

घिमिरेले निरन्तररुपमा मेहनत र परिश्रम गरेरै आफ्नै गाउँघरमा केही गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन् । व्यवसायबाट आफू सन्तुष्ट भएको भन्दै जापानको कमाइ गाउँमै भएकोले केरा व्यवसायलाई अझ वृद्धि गर्दै लैजाने र गाउँलाई नै केरामय बनाउने सोच उनले बनाएका छन् ।

घिमिरेले हाल तीन स्थानीय जात अन्तर्गत फुस्रे, झोप्रे, मुहुरे र तीन उन्नत जातअन्तर्गत चिनी केरा, झापाली माल्भोग र मनिपुरे माल्भोग जात गरी छ जातका व्यावसायिक केराखेती गरेका छन् । आफूले उत्पादन गरेका केरा, खुर्सानी, मेवा र कुखुरा आदिको राम्रो व्यापारले गर्दा बजारमा मागअनुसार उत्पादित वस्तु आफूले बजारमा पु¥याउन नसकेको उनले बताए ।