मुक्तिनाथ भुसाल
वाम विचारधाराका भएर पनि स्वतन्त्र व्यक्तित्वको पहिचान बनाएका अर्घाखाँची जिल्लाका चर्चित नेता विष्णुहरि भुसाल आज नेकपा एमालेमा प्रवेश गरेका छन् । ०३३ सालदेखि कम्युनिष्ट आन्दोलनमा होमिएर पछि नेकपा माओवादीमा सक्रिय रहेका भुसाल सो पार्टी परित्याग गरी विगत केहि वर्षदेखि स्वतन्त्र रहँदै आएका थिए ।
यसैगरी नेपाल पत्रकार महासंघ जिल्ला अर्घाखाँचीका निवर्तमान अध्यक्ष शोभाखर पन्थी पनि सोही अवसरमा नेकपा एमाले प्रवेश गरेका छन् । विगतमा उनी नेकपा माओवादीको विप्लव समूहमा महत्वपूर्ण जिम्मेवारीमा थिए । मदन आक्षित स्मृति भवन सन्धिखर्कमा आयोजित एक समारोहका बीच दुवै नेताहरु एमाले प्रवेश गरेको उदघोष गरिएको थियो ।
नेकपा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यको सभापतित्व आयोजित सो कार्यक्रममा ५ नम्वर प्रदेश संगठन कमिटिका सदस्य रामजी घिमिरे, पिताम्बर भुसाल, नेताहरु ब्ुाद्धि रायमाझी, कुटमदिन अलि, जिवनारायण कोइराला, पिताम्वर भुसाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी, युवा संघ नेपालका जिल्ला अध्यक्ष गोविन्ध आचार्य लगायत बिभिन्न तह र तप्काका नेता तथा महानुभावहरुको बाक्लो सहभागिता रहेको थियो ।
नवप्रवेशी नेताहरुलाई जिल्ला अध्यक्ष आचार्यले अविर र खादाद्वारा स्वागत गर्दै मुलुकको स्वाभिमानलाई स्वदेशी तथा विदेशी हस्तक्षपबाट बचाई समृद्धिको दिशातर्फ डोर्याउन एमालेको विकल्प नभएको धारण ब्यक्त गरेका थिए । प्रदेश संगठन कमिटी सदस्यद्वय घिमिरे र भुसालले पनि पार्टी प्रवेश गर्नुहुनेलाई स्वागतसहित वाम एकताविना मुलुकको उन्नति हुन नसक्ने धारणा राखेका थिए । पार्टी प्रवेश तथा स्वागत कार्यक्रमको सञ्चालन नेकपा एमालेका जिल्ला सचिव रामबहादुर चौहानले गरेका थिए भने पार्टी उपाध्यक्ष जिवनारायण कोइरालाले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रिया