‘ओभरलोडेड’ भारतीय ट्रकका कारण नेपाली ब्यवसायी सङ्कटमा !

‘ओभरलोडेड’ भारतीय ट्रकका कारण नेपाली ब्यवसायी सङ्कटमा !


– चन्द्रकान्त खनाल

क्षमताभन्दा धेरै सामान बोक्ने भारतीय गाडी (मालवाहक ट्रक)का कारण आफूहरू मर्कामा परेको नेपाली यातायात व्यवसायीले गुनासो गरेका छन् । ओभरलोड समान बोकेर नेपाल भित्रिने भारतीय गाडीलाई रोक्न सम्बन्धित निकायले पहलकदमी लिनुपर्ने माग व्यवासायीले गरेका छन् । भारतीय ओभरलोड गाडीका कारण व्यवसाय संकटमा परेको र नेपालका सडक तथा पुलपुलेसा पनि जीर्ण बन्दै गएको तर्क गर्दैै तत्काल रोक्न व्यवसायीले सरकारसँग माग गरेका हुन् ।

प्रचलित कानुनको उल्लंघन गरेर ओभरलोड सामान बोकेको भन्दै नवलपरासीको तिलकपुरमा भारतीय गाडी तथा ट्रकहरूलाई यातायात व्यवसायीले रोकेका छन् । भारतको राजस्थानबाट मार्वल र टायल बोकेर नारायणगढ, काठमाडौं जाँदै गरेका भारतीय गाडीहरूलाई कारवाहीको माग गर्दै व्यवसायीले रोकेका हुन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिले तिलकपुरमा राखेको धर्मकाँटामा तौल गर्दा ओभरलोड बोकेको पत्ता लागेपछि भारतीय गाडीहरू रोकिएको बताए । उनीहरूले २१ टन भन्दा बढी समान लिएर आएका ७ वटा गाडिलाई अब नल्याउने सर्तमा छाडेका थिए ।

यातायत व्यवसायीले पहिलेदेखि नै ओभरलोड बोक्ने भारतीय गाडी रोक्न माग गर्दै आएका छन् । यातायात तथा ट्रक व्यवसायीले जिल्ला प्रसाशन र वेलहिया सुनौली भन्सार कार्यालयलाई ओभरलोड गाडी नियन्त्रण रोक्न माग गर्दै डेलिगेसन गएका छन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यलाई भारतीय ओभरलोड गाडी तत्काल रोक्न माग गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले ओभरलोड बोक्ने भारतीय गाडीको एक साताभित्र नियन्त्रण गरिने बताए ।

नेपाली तथा भारतीय कुनै पनि गाडीले ओभर लोड सामान बोक्न नपाइने उनको भनाई थियो । कानुनको परिधिभित्र रहेर व्यवसाय चलाउनुपर्ने रेग्मीको भनाई छ । ओभरलोड बोक्ने पुरानै रोग भएको बताउंँदै निकास निकाल्न जिल्ला प्रशासन प्रतिबद्व रहेको उनको भनाई थियो । सुनौली भन्सार कार्यालयका प्रमुख शाक्यले भन्सार कार्यालयले सबै ओभरलोडका गाडीहरू हेर्न सम्भव नहुने बताए । फेन्सीका साथै पोका समान बोक्ने गाडीहरूको भने ओभरलोड हेरिएको कार्यालय प्रमुख शाक्यले बताए ।

ओभरलोड बोक्ने भारतीय गाडीहरूलाई प्रहरीले नै निर्वाध रुपमा चल्न दिएको व्यवसायीले आरोप लगाउँदै आएका छन् । ओभरलोड गाडीहरूलाई सरकारले तत्काल नरोके छठपछि आन्दोलनमा जाने पश्चिमाञ्चल यातायात व्यवसायी समिति अध्यक्ष टीकाराम गौतमले बताए । उनले भने १२ चक्के ट्रकले २१ टन मात्र बोन्ने अनुमति छ । तर भारतबाट नेपाल भित्रने ट्रकले ३५ टनसम्म बोकेको उनको भनाई छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव हरिप्रसाद कँडेलले भारतीय ओभरलोड गाडीका कारण व्यवसायीले बैंकको ब्याजसमेत चलाउन नसकेको गुनासो गरे । पश्चिमाञ्चल ट्रक ब्यबसायी समितिका पूर्वअध्यक्ष लोकराज पोखरेल भन्छन्, ‘स्थानीय स्तरमा पटक–पटक सम्झौता गरेका छौँ तर पालना नै भएन ।’ भारतीय ट्रक व्यवसायीले सामान भन्सारसम्म ल्याइदिने र नेपालीले बोक्ने सहमति भएको हो, तर कानुन उल्लंघन भएको उनले बताए ।

अहिले पनि दैनिक १ सय ५० देखि २०० सयसम्म भारतीय ट्रक काठमाडांै–पोखरा–नारायणघाट सिधै जाने गरेको उनको दाबी छ । ‘भारतबाटै ट्रकमा ल्याउने माल पनि भारतीयले नै बोक्ने… अनि हामी नेपालीले खाली सिमेन्ट र लोकल माल मात्र बोक्ने भएपछि कसरी लोनमा ल्याएका गाडीको ऋण तिर्ने ?’ उनले भने– प्रशासनसंग हाम्रो आग्रह छ, कानुन उल्लंघन गर्नेलाई रोक्नुस् ।’

ओभरलोड गाडी सरकारले बन्द नगरे आफुहरूले कुनै पनि सामान नबोक्ने व्यवसायीले चेतावनी दिएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनी ट्रक समितिले केही दिन यतादेखि नवलपरासीको तिलकपुर र भैरहवामा भारतीय ओभरलोड गाडिहरूलाई रोक्दै आएका छन् । व्यवसायीले ८ देखि १९ टन बढी समान बोकेर काठमाडौ, नारायणगढ, पोखरा र नवलपरासी जान हिँडेका भारतीय गाडीलाई तिलकपुरमा रोकेका छन् ।

भारतको राजस्थान, गोरखपुरबाट टायल र सिमेण्ट बनाउने कच्चा पदार्थ भारतीय गाडीले ओभरलोड बोकेको अवस्थामा भेटिएका छन् । भन्सार कार्यालयबाट ओभरलोड भारतीय गाडीहरूलाई २५ किलो मिटरको दुरीसम्म जान पाउने प्रावधान छ । तर ओभरलोड भारतीय गाडीहरू निर्वाध रुपमा नारायणगढ, पोखरा, काठमाडौ लगायतको स्थानमा गैरहेका छन् । यी समितिका ट्रकहरू नेपाल अधिराज्यभर चल्ने गरेका छन । पश्चिमाञ्चल यातयात ब्यवसायीका २३ सय र लुम्बिनीका ७ सय गरी ३ हजार ट्रक लुम्बिनी–बुटवल क्षेत्रमा रहेका छन् ।