खुलामञ्चबाट विप्लवले दिए प्रचण्डलाई चुनौती

खुलामञ्चबाट विप्लवले दिए प्रचण्डलाई चुनौती


आफूलाई खास कम्युनिष्ट केन्द्र दाबी गर्ने प्रचण्डहरु संसदीय चुनावको दाउपेचमा व्यस्त रहेको बेला प्रचण्डले नेतृत्व गरेकै पार्टीबाट अलग्गिएर नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेका नेत्रबहादुर चन्द विप्लव भने बुधबार राजधानीमा चर्को रुपमा प्रकट भए । अक्टोबर क्रान्तिको शतवार्षिकी अवसर पारेर जुलुस र आमसभामार्फत् शक्ति प्रदर्शनमा उत्रिएका विप्लव तथा उनका सहयात्रीहरुले काठमाडौंका मूख्य सडकमा राम्रै जुलुस प्रदर्शन गरे, नारा उराले र दलाल पुँजीपतिहरुको सम्पति खोसेर राष्ट्रियकरण गर्ने अभियानको नेतृत्व नेकपाले गर्ने उदघोष गरे ।

यतिसम्म त स्वाभाविक नै थियो, तर पूर्वमाओवादी केन्द्रका ती नेता कार्यकर्ताहरुले कुनैबेला देवतातुल्य मानेका प्रचण्ड र बाबुरामहरुलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने हुंकार गरेर सबैलाई ताजुबमा पारे ।

अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीपतिका विरुद्ध आम जनतालाई साथ लिएर दलालका विरुद्ध संघर्ष गर्ने उद्घोष गरे । शान्तिपूर्ण तरिकाले जनताका काम गर्न नदिइए आफ्नो पार्टी बन्दुक बोक्न बाध्य हुने चेतावनी दिँदै विप्लवले माओवादी मान्ने माके र माओविचारधारा पनि नमान्ने एमालेको एकता कस्तो होला भन्दै ब्यंग्य गरे ।

सदाबहार रुपले गाली दिँदै आएको नेपाली कांग्रेसलाई उनले छोड्ने सवाल नै रहेन, भनिदिए- ‘कांग्रेसलाई त अब म्युजियममा लगेर थन्काउनुपर्छ ।’

प्रचण्डहरुले माओवादको हुर्मत लिने काम गरेको आरोप लगाउँदै उनले प्रचण्ड यतिबेला मुर्कुट्टोको रुपमा राजनीति गर्न विवश बनेको तर्क गरे । एमालेसँगको माओवादी केन्द्रको गठबन्धन बाम गठबन्धन नभई दाम गठबन्धन रहेको विप्लवले बताउँदा खुलामञ्चमा उपस्थित कार्यकर्ताहरु रोमाञ्चित हुँदै तरर्र ताली बजाए ।

संसदीय राजनीति पूर्णत: असफल भइसकेको भन्दै उनले प्रचण्ड, केपी र बाबुरामले समाजवाद ल्याउने कुरा नाटक मात्र रहेको दाबी गरे । उनीहरुले समाजवाद जन्माउने नभई झन् बलियो पुँजीवाद भित्राउने विप्लवको भनाई छ।

नेपालमा असल कम्युनिस्टहरु एक हुनुपर्ने दलील प्रस्तुत गर्दै उनले माकेभित्र रहेका इमान्दार र क्रान्तिकारीहरुले विद्रोह गर्नुपर्ने सुझाव दिए । मुलुकका सबै राष्ट्रवादी शक्तिहरु एक हुनुपर्ने पनि उनले बताए ।

दलाल र भ्रष्टहरुविरुद्ध संघर्ष केन्द्रित गर्नुपर्ने भन्दै विप्लवले राष्ट्रिय भ्रष्टचारीहरुको सम्पति राष्ट्रियकरण गर्ने अभियानमा साथ दिन आमनागरिकलाई आह्वान गरे ।

यसअघि सोही आमसभालाई सम्बोधन गर्दै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले कसैले आफ्नो पार्टीलाई दमनबाट सिध्याउन खोजेमा जनताले तिनको शिर छिनाल्ने चर्को अभिव्यक्ति दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित हुँदै उनले भने, ‘हिजो जनयुद्धमा जाँदा हामीलाई तीन महिनाभित्र सिध्याउछौं भन्ने तपाई देउवाजी हो, तर हामीलाई सिध्याउन सक्नुभएन । तपाई नै हाम्रो टाउकोको मूल्य तोक्ने, तर सक्नुभएन । अहिले फेरि तपाईं हामीलाई त्यही बाटोतिर धकेल्ने दुश्प्रयास गर्दैहुनुहुनछ, तर सफल हुनुहुने छैन ।’

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले प्रचण्ड र बाबुरामलाई टुंडिखेलमा झुण्डाउनु पर्ने अभिव्यक्ति दिएर सनसनी मच्चाए । उनले प्रचण्ड बाबुरामले दशवर्षे जनयुद्धका एजेण्डालाई सिंहदरबारमा लगेर विसर्जन गरेको भन्दै उनीहरुलाई त्यस्तो सजाय दिनुपर्ने तर्क गरेका हुन् ।

आमसभाअघि नेकपाले राजधानीमा प्रदर्शन गरेको जुलुसका केही दृश्य :