ज्योति र राप्तीभेरी विकास बैंक एकीकृत

ज्योति र राप्तीभेरी विकास बैंक एकीकृत


ज्योति विकास बैंक लि.ले क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई ‘एक्विजिसन’ (प्राप्ति) गरी एकीकृत कारोबार सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उल्लिखित बैंकहरूको संयुक्त कारोबार सञ्चालन आरम्भ समारोहको बुधबार उद्घाटन गरेका हुन् ।

ज्योति विकास बैंक लिमिटेडले नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ति नीतिलाई अंगीकार गर्दै हालसम्म झिमरुक विकास बैंक लिमिटेड र राप्तीभेरी विकास बैंक लिमिटेड गरी दुईवटा क्षेत्रिय स्तरको विकास बंैकलाई सफलतापूर्वक मर्जर र प्राप्ति गरेको छ । यस प्राप्तिपश्चात् ज्योति विकास बैंक लिमिटेडेको चुक्ता पूँजी २ अर्ब ३६ करोड पुगेको बताइएको छ भने कुल निक्षेप रु. १२ अर्ब ४० करोड, कर्जा लगानी रु. १० अर्ब ३० करोड, शाखा संख्या ४६ तथा ग्राहक संख्या १ लाख ४० हजार भन्दा बढि पुगेको बैंकले जनाएको छ ।
ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३-७४ को मुनाफाबाट वोनस शेयर वितरणपश्चात चुक्ता पूँजी आवश्यकता सहजै पूरा हुनेछ । बैंकले देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ १० वटा शाखा छिट्टै थप्न लागेको पनि जानकारी दिएको छ ।

वि.सं. २०६५ श्रावण ९ गते स्थापना भएको ज्योति विकास बैंक लिमिटेडले स्थापनाको ९ बर्ष अवधिमा निजि क्षेत्रका विकास बैंकहरुको बीचमा अलग्गै पहिचान बनाउन सफल भएको छ । ज्योति विकास बैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा समेत आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ विस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा सेवा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरेको छ ।