नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवल (रुपन्देही) र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन केन्द्रिय कार्यालय काठमाडौंको आयोजनामा हिजो बुधबारदेखि बुटवलमा दोश्रो राष्ट्रिय औधोगिक प्रदर्शनी शुरु भएको छ । माओवादी अध्यक्ष प्रचण्डले उदघाटन गर्ने भने पनि उनी अनुपस्थित भएकाले संगठनका संस्थापक अध्यक्ष कृष्ण आचार्यले प्रदर्शनी उदघाटन गरेका हुन् ।
प्रदर्शनी उद्घाटन गर्दे उद्यमी आचार्यले मुलुकमा एक हदसम्म राजनीतिक क्रान्ति सम्पन्न भएको र अब आर्थिक क्रान्ति आवश्यक रहेको बताए । आर्थिक क्रान्तिको नेतृत्व उद्योगी–व्यवसायीले गर्ने उनको भनाई थियो ।
कार्यक्रममा उपस्थित दलका नेताहरूले बुटवललाई आर्थिक केन्द्रबिन्दु बनाउन कसैले रोक्न नसक्ने दाबी गरे । माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य डिलाराम आचार्य, एमालेका नेता लिला गिरी, नेपाली कांग्रेसका नेता विमलराज भट्टराई लगायतले मुलुकको लागि आर्थिक समृद्धि पहिलो सर्त भएको तर्क गरे ।
उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले बुटवल आर्थिक गतिविधीको दृष्टीकोणले मुलुककै केन्द्रबिन्दु रहेकाले आर्थिक क्षेत्रको राजधानी बन्न सक्ने पर्याप्त सम्भावना रहेको बताए ।
संगठनका कार्यवाहक अध्यक्ष श्याम श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमवहादुर हमाल, नेपाल हेवी इक्युमेण्ट व्यवसायी संघका अध्यक्ष ताराबहादुर कुँवर, नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसी, संगठन बुटवलमा निवर्तमान अध्यक्ष खिमनारायण पराजुली लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संगठनका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक खेमबहादुर श्रीसले प्रदर्शनीको लागि बुटवलको सवै व्यवसायी संघसंस्था राजनितिक दल एवम् नागरिकहरूको सहयोग रहेको र सम्पन्न गर्दासम्म पनि सहयोगको अपेक्षा गरे ।
‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औधोगिकरण तथा ब्यापार विविधिकरण’ भन्ने मूल नाराका साथ आयोजित प्रदर्शनीमा दैनिक उपभोग्य बस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औधोगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाइल्स, सूचना प्रविधि तथा इलोक्ट्रनिक्स, टेक्सटाई, गार्मेन्ट तथा फुटवेयर, फर्निचर तथा फर्निसिङका समग्री, बैंक तथा वित्तीय, गरी ३ सय ५० वटा स्टलहरु सहभागी रहेको तथा कात्तिक १८ गतेसम्म प्रदर्शनी सञ्चालन हुने महासचिव सिताराम रसाईलीले जानकारी दिए ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया