‘नदी र मान्छे’

‘नदी र मान्छे’


– निष्णु थिङ

यी नदीहरू वर्षौंदेखि बग्दै छन्
यो कमला वर्षौंदेखि बग्दै छ
खोइ किन बग्छन् ?
यी नदीहरू वर्षौंदेखि
यसको कुनै गन्तव्य छ कि !
यसको कुनै लक्ष्य छ कि !

केवल बगिरहन्छ अनवरत
भीमकाय पहाडहरू छिचोल्दै
भीमकाय पर्वतहरू छिचोल्दै
घुम्तीहरू घुमेर
नागवेलीहरू तरेर
यो नदी थाकेको छैन !

उसको बग्ने धर्म हो
धर्म छाडेको छैन
उसको बग्ने कर्म हो
कर्म छोडेको छैन
नदी कसैको आस गर्दैन
आफ्नो बाटो आफैँ बनाउँछ !

नदी कसैको मुख ताक्दैन
आफ्नो गन्तव्य आफँै तय गर्छ
नदी कसैलाई पर्खिँदैन
निर्जन वनमा एक्लै हिँडिरहन्छ
पहाड पर्वतका गल्छेँडाहरूमा
एक्लै डुलिरहन्छ
तराईका फाँटैफाँट
एक्लै यात्रा गरिरहन्छ !

मान्छेजस्तो छलकपट जान्दैन
आफ्नो–पराइ जान्दैन
काखा–पाखा गर्दैन
कोही कसैलाई भेदभाव गर्दैन
मान्छेका दुःखभन्दा
कम्ती छैन यिनका दुःखहरू
यो नदीमा ढल मिसाउँदा
यो नदीमा फोहोर बगाउँदा !

यो नदीलाई छेक्न
कैयन बाँधहरू ठडिए
श्वेज नहर बनाए
कमला नहर बनाए
कोसीको नहर बनाए
जता बगाए त्यतै बगिरहे
जता हिँडाए त्यतै हिँडिरहे
मान्छेले गरेका अत्याचार सहिरहे
उसलाई जसरी प्रयोग गरे पनि
सधैँभरि प्रयोग भइरहे
तर, बग्न छाडेन
तर, हिँड्न छाडेन
खोइ केको हतार छ ?

एकक्षण रोकिँदैन
थकाइ कहिल्यै मार्दैन
एकक्षण पर्खिँदैन
मानिलिऊँ एउटा पागल प्रेमी
प्रेमिकालाई भेट्न आतुर छ
नदीका सङ्घर्षहरू
सगरमाथा आरोही
तेन्जिङ नोर्गे शेर्पा
एडमन्ड हिलारी
नदीका सङ्घर्षहरू
चन्द्रमाका आरोही
नील आर्मस्ट्रङको भन्दा
कम छैन सानो छैन चुनौतीहरू
सानो छैन जिम्मेवारीहरू
सानो छैन कर्तव्यहरू !

यो सिङ्गो मानवजातिको सभ्यतालाई
अझै पनि बोकिरहेछ
मिश्रको नाइल
लन्डनको टेम्स
रसियाको बोल्गा
भारतको गंगा
नेपालको बागमती
नेपालको कमला
युगौँयुगदेखि सबै पीडा सहेर
हिँडिरहेको छ नथाकेर
सभ्यताको भारी बोकेर
तिमी मान्छे हौ
यो जगत्को सर्वश्रेष्ठ प्राणी !

तिमी सक्छौ भने
देखाऊ नदी बनेर
तिमी सक्छौ भने
देखाऊ नदी बनेर ।