धादिङमा शुरु भयो काङ्ग्रेसको चुनावी सरगर्मी

धादिङमा शुरु भयो काङ्ग्रेसको चुनावी सरगर्मी


नेपाली कांग्रेस धादिङ, क्षेत्र नं. १ को प्रदेश नम्बर ‘ख’अन्तर्गत गजुरी गाउँपालिकाका क्रियाशील सदस्यहरूको भेला सम्पन्न भएको छ । काङ्ग्रेस नेता एवम् कानुन राज्यमन्त्री दिलमान पाख्रिन तामाङको प्रमुख आतिथ्यतामा कात्तिक ८, ०७४ बुधबार भएको भेला आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै नेपाली कांग्रेस गजुरी गाउँपालिकाले आयोजना गरेको हो ।

प्रमुख अतिथि राज्यमन्त्री पाख्रिनले पार्टी एक ढिक्का भई समस्त कार्यकर्ता सक्रियतापूर्वक परिचालन भएमा काङ्ग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताए ।

यस्तै, विशेष अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमलाले आफ्नो कार्यकालमा नेपाली काङ्ग्रेसको स्थान उँचो तुल्याउन आफू मरिमेटेर लागिपरेको उल्लेख गर्दै मुलुकमा हाबी हुन लागेको कम्युनिष्ट अधिनायकवादलाई बेलैमा रोक्न र परास्त गर्नका लागि यस निर्वाचनमा काङ्ग्रेस उम्मेदवारहरूको विजय अत्यावश्यक रहेको बताए । निर्वाचनमा कहीँ–कतैबाट काङ्ग्रेस कार्यकर्तालाई अवरोध खडा गरिएमा दुई घण्टाभित्र अवरोधकारीलाई स्थान छोड्न बाध्उ बनाउने तागत काङ्ग्रेससँग रहेकोले कार्यकर्तालाई आफू आइनलाग्न र आइलाग्नेमाथि जाइलाग्न पछि नहट्न निर्देशन दिए ।

यसैगरी पुराना नेता हरि अधिकारीले यसपालीको टिकट वितरणमा केन्द्रले सन्तुलन कायम गरेकोले जिल्लामा घात–प्रतिघात नहुने विश्वास दिलाउँदै कार्यकर्तालाई ढुक्क भएर निर्वाचनमा होमिन अनुरोध गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभापति एवम् पूर्व सांसद रामनाथ अधिकारीले विगतमा भएका कमी–कमजोरीलाई भुलेर यसपटकको चुनाव प्रजातनत्र कि अधिनायकवाद भन्ने सवालमा केन्द्रित रहेकोले पुराना घात–प्रतिघात बिर्सेर सबै एक भई लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रमलाई क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार विश्व अर्यालले पनि सम्बोधन गरेका थिए भने निर्वाचन परिचालन समितिका संयोजक कविता इटनीले पनि आफ्नो धारणा राखेकी थिइन् ।

उक्त कार्यक्रमका प्रमुख आकर्षणका पात्र थिए– माओवादी केन्द्रको केन्द्रिय समिति सदस्य रहेर पनि उक्त पार्टी परित्याग गरी नेपाली काङ्ग्रेस ज्वाइन गरेका युवा नेता प्रभातकिरण सुवेदी ‘शिव’ । उनी यस निर्वाचनका लागि काङ्ग्रेसबाट क्षेत्र नम्बर १ को प्रदेश नम्बर ‘ख’का प्रत्यक्ष उम्मेदवार रहेकाले सबैको ध्यान उनमाथि रहेको सहजै अनुभूति गर्न सकिन्थ्यो ।

उक्त कार्यक्रमलाई सम्बोेधन गर्दै प्रखर युवा एवम् प्रदेश सभा उम्मेदवार सुवेदीले सुवेदीले आफूले कम्युनिष्ट पार्टी छोड्नुपर्नाको कारण उल्लेख गर्दै कम्युनिष्टबाट देश विकास हुन नसक्ने, आर्थिक विकास हुन नसक्ने, विश्वबाट लोप हुन लागेको कम्युनिष्ट विचार नेपालमा स्थापित गर्न नसकिने, यो विचार नै गलत रहेको आफूलाई महसुस भएकोले आफू माओवादी केन्द्र परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रतिबद्ध भएको प्रष्ट्याए । नवप्रवेशी भएर पनि आफूलाई नेपाली काङ्ग्रेसका स्थानीय साथीहरूका सार्थै क्षेत्र, जिल्ला एवम् केन्द्रले समेत अत्यन्त भरोसा र विश्वाससहित उम्मेदवारको रूपमा अघिसारेकोले आफू अत्यन्त अनुग्रहित भएको बताउँदै पार्टीले गरेको यस विश्वास र भरोसालाई आफूले सदैव व्यवहारमा उतारेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

आफू आफ्नो जिल्ला तथा गाउँ–क्षेत्रमा पूर्ण रूपले भिजेको पात्र हुनुका नाताले यस क्षेत्रका कुन स्थानमा के–कस्ता विकास–निर्माणको आवश्यकता छ भनने भलीभाँती जानेको उनको भनाई थियो । क्षेत्रको विकास गर्न आफूसँग स्पष्ट भिजन भएको र मूलतः बेरोजगारी उन्मुलनका कार्यक्रमलाई आफूले फोकस गर्ने उनले बताए । आफू प्रतिनिधि चुनिएर गएपछि पनि जिल्ला तथा क्षेत्रका साथीहरूसँग छलफल र सहमति गरेर कुनै पनि निर्णय लिने र विकास निर्माणका काममा लागि पर्ने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा अतिथिका रूपमा हरि अधिकारी, रामनाथ अधिकारी, तिलक रुवाली, विश्व अर्याल, मधुकुमार श्रेष्ठ, नन्दलाल श्रेष्ठ, कविता इटनी, जिल्ला सदस्यहरू शरद अधिकारी, खिल गिरी, राजकुमार अधिकारी, शर्मिला विसुराल, हरिभक्त त्रिपाठी बद्री अर्याल, टेकबहादुर प्रजालगायतको उपस्थिति थियो भने कार्यक्रमको सभापतित्व गजुरी गाउँपालिका सभापति भूमि कँडेलले गरेका थिए ।

परशुराम खतिवडाले स्वागत मन्तव्य दिएको सो कार्यक्रमको सञ्चालन मोहन पण्डितले गरेका थिए ।

– नवीन उप्रेती