व्यवस्थापिका संसद् पुनःस्थापना हुने प्रचण्डको तर्क

व्यवस्थापिका संसद् पुनःस्थापना हुने प्रचण्डको तर्क


तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने जिकीर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका छन् ।

संविधानतः संसद्को अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया शुरु भएकाले संसद् विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद् पुनःस्थापना हुने उनको तर्क छ ।

राजधानीमा विहिबार आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने- ‘अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचन प्रक्रिया बिथोल्न सक्छन्, यसमा हामी सबै सचेत हुन आवश्यक छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको सहमतिमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै सिटमा अलग अलग मतपत्र छाप्ने प्रक्रिया थालेकाले यसमा कुनै भ्रम नराख्न आग्रह समेत गरे ।