गगन थापालाई कांग्रेस प्रवक्ताको जिम्मेवारी

गगन थापालाई कांग्रेस प्रवक्ताको जिम्मेवारी


केही दिनदेखि कांग्रेसवृत्तमा चल्दै आएको चर्चालाई तथ्य सावित गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय सदस्य गगन थापालाई कांग्रेस पार्टी प्रवक्ता मनोनयन गरेका छन् । आफूले प्रवक्ताको जिम्मेवारी स्वीकार गरेको कुरा समेत गगनले सार्वजनिक गरेका छन् ।

दिलेन्द्र वडुपछि लामो समयदेखि कांग्रेसमा प्रवक्ताको ओहदा रिक्त थियो । यसबीच कसैले सो पदको दाबेदारी गरेका थिएनन् भने सभापति देउवाले पनि रिक्त स्थान पूर्ति गरेर पार्टीका गतिविधिलाई आममानसमा लैजानुपर्ने आवश्यकता बोध गर्न नसकेको अनुभूति गरिँदै आएको थियो ।

देउवानिकट सुत्रका अनुसार निर्वाचनको बेला गगनलाई आफ्नो पक्षमा उपयोग गर्ने रणनीतिबाट प्रेरित हुँदै सभापतिले थापालाई यो महत्वपूर्ण जिम्मेवारी दिएका हुन् । चुनावमा सहयोग पुग्नुको अलावा कृष्ण सिटौलालाई कमजोर तुल्याउन पनि देउवाले गगनलाई हतियार बनाएका हुन् । ज्ञात रहोस्, गगन थापा कांग्रेसभित्र मौलाएको एउटा अलग धार ‘सिटौला समूह’का प्रभावशाली पात्र हुन् ।

बताइएअनुसार केहि दिनअघि नै देउवाले थापालाई पार्टी प्रवक्ताको प्रस्ताव दिए पनि गगनले सोचेर निर्णयमा पुग्ने जवाफ दिएका थिए । सभापतिले दिएको ‘आकर्षक प्रस्ताव’को लाभ उठाउन आफ्ना खास सहयोगीहरुले सल्लाह दिएपछि गगनले स्वीकृति दिएका हुन् । आज विहिबारदेखि आधिकारिक रुपमा गगनले पार्टी प्रवक्ताको जिम्मेवारी लिएका छन् ।