शीर्ष तहका कांग्रेस नेता को-कहाँबाट चुनाव लड्दैछन् ?

शीर्ष तहका कांग्रेस नेता को-कहाँबाट चुनाव लड्दैछन् ?


आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेसले प्रतिनिधिसभाका २२ उम्मेदवारको टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा हिजो बिहिबार बसेको संसदीय समितिको बैठकले तय गरेअनुसार सभापति देउवा स्वयम डडेल्धुरा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिँदैछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १ बाट चुनाव लड्दैछन् ।

यस्तै, महामन्त्री डा. शशाङ्क कोइराला नवलपुर क्षेत्र नं १, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं २, विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ र विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने तय भएको छ ।

यसैगरी, पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं १, महेश आचार्य मोरङ क्षेत्र नं ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं ४, रमेश रिजाल पर्सा क्षेत्र नं ४, डा नारायण खड्का उदयपुर क्षेत्र नं १, डा मीनेन्द्र रिजाल मोरङ क्षेत्र नं २, डा प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं ५, फरमुल्लाह मन्सुर बारा क्षेत्र नं ३, एनपी साउद कञ्चनपुर क्षेत्र नं २ र अर्जुनप्रसाद जोशी पर्वत क्षेत्र नं १ बाट उम्मेदवार बन्नेछन् भने डा. शेखर कोइराला मोरङ क्षेत्र नं ६, नवीन्द्रराज जोशी काठमाडौँ क्षेत्र नंं ८, गगनकुमार थापा काठमाडौँ क्षेत्र नं ४, रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३ र नारायणबहादुर कार्की उदयपुर क्षेत्र नं २ बाट उम्मेदवार बन्ने निश्चित भएको छ ।