एक्लै लड्ने बिजुक्छेको निर्णय

एक्लै लड्ने बिजुक्छेको निर्णय



आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पोजिसन दर्बिलो पार्न ठूला तथा साना अधिकांश राजनीतिक दलहरुबीच गठबन्धन र तालमेलको लहर चलिरहेको बेला नेपाल मजदुर किसान पार्टीले भने कुनै पार्टीसँग गठजोड नगरी आफ्नै बुतामा निर्वाचनमा होमिने उदघोष गरेको छ ।

सो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो पार्टीले कुनै पनि दल या समूहसँग ताममेल नगर्ने प्रष्टोक्ति दिए । आफ्नो पार्टीलाई तालमेलमा आउन वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आग्रह गरिरहेको खुलासा गर्दै उनले भने, ‘नेमकिपा कसैको आड र ओत लिएर चुनाव लड्नेमा विश्वास राख्दैन, यसपटक पार्टी कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने छ ।’

खरो र प्रस्टवक्ताको पहिचान बनाएका नेता बिजुक्छेले ‘थ्रेस होल्ड’को आलोचना गर्दै यसको नेमिकपाले प्रतिरोध गर्ने बताए। उनले जातजातिको कुरा गर्ने जातीय पार्टी, धर्मको कुरो गर्ने धार्मिक पार्टी र देश विदेशको विषय उठाउने राष्ट्रिय पार्टी हुने टिप्पणी गर्दै नेमकिपाचाहिँ हिजो पनि राष्ट्रिय पार्टी थियो, आज पनि छ र भोलि पनि राष्ट्र र राष्ट्रियताको हितमै काम गर्ने पार्टी भएकाले राष्ट्रिय पार्टी रहन्छ भन्ने तर्क गरे ।