विर्तामोडमा प्रहरीको गोलीबाट एकको मृत्यु

विर्तामोडमा प्रहरीको गोलीबाट एकको मृत्यु


११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याराको खोजी नगरिदिएको भन्दै भएको आन्दोलनमा प्रहरीले हानेको गोली लागेर अर्जुनधारा नगरपालिका–५ निवासी नरेश थापाको मृत्यु भएको छ ।

कोखामा गोली लागेका थापाको उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक विष्णु केसीले दिएको जानकारी दिनुभयो ।

प्रदर्शनमा प्रहरीको गोली लागेर अन्य २ जना घाइते भएका छन् भने भागदौडमा सुरक्षाकर्मी र आन्दोलनकारी जम्मा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते हुनेहरुमा राजगढका सुनिल पाठक र माइ नगरपालिका १ इलामका मणि नेपाली रहेका छन् ।

घाइते पाठकको वि एण्ड सी अस्पताल विर्तामोड र कोखामा गोली लागेका तथा मणि नेपालीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

यस्तै भागदौडका क्रममा मेनपाका अशोक बस्नेत, दुर्गापुरका नवराज कोइराला, अर्जुनधाराका पुण्य प्रसाद लुइटेल को वि।एण्ड सी अस्पताल र देवानन्द राजवंशीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

यस्तै आन्दोलनकारीको ढुङ्गा लागेर शसस्त्र प्रहरीका एसपी रमेश सुवेदीको टाउकोमा चोट लागेको छ ।

तस्बिर : रेजिना गौतम