नयाँ शक्तिको घोषणापत्र : पाँच वर्षभित्र विकसित मुलुक बनाउने

नयाँ शक्तिको घोषणापत्र : पाँच वर्षभित्र विकसित मुलुक बनाउने


नयाँ शक्ति पार्टी नेपालले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । नयाँ शक्तिले तयार पारेको घोषणापत्रमा नेपाललाई पाँच वर्षभित्र अल्पविकसित देशहरुको समूहबाट विकसित मुलुकमा पुर्याउने उल्लेख छ।

नयाँ शक्तिले पार्टी र राज्यका सबै तह र क्षेत्रबाट विद्यामान औपचारिक लोकतन्त्रलाई समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रमा रुपान्तरण गर्ने प्रतिवद्धता पनि जनाएको छ। १५ वर्षभित्र मध्यम आयस्तर भएको देश बनाउने, २५ वर्षभित्र विश्वका विकसित मुलुकको हाराहारीमा समृद्धि हासिल गर्ने प्रतिबद्धता जनाइएको छ ।

नयाँ शक्तिले गत असोज १७ गते एमाले र माओवादीसँग वामपन्थी गठबन्धनमा बाँधिएपछि एउटै घोषणापत्र तयार गर्ने योजना बनाएको थियो । गठबन्धनमा रहँदा गोरखामा निर्वाचन लड्न नपाउने भएपछि उनी त्यसको १० दिनपछि बाहिरिएका थिए ।

सुशासनको दृष्टिकोणबाट सरकारी तलबभत्ता खाने सबै कर्मचारीको पार्टीगत ट्रेड युनियन खारेज गर्ने, अख्तियार सेवाको गठन गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको  छ ।

नेपाली कांग्रेससँग तालमेल गरी गोरखामा निर्वाचन लड्न लागेका भट्टराईले शुक्रबार पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरेका हुन् ।

पञ्चेश्वर, पश्चिम सेती, माथिल्लो कर्णाली, नल्सिङगाढ, बूढीगण्डकी, दुधकोसी जस्ता ठूला जलविद्युत परियोजनाको निर्माण गर्ने।

पूर्वपश्चिम र मध्यपहाडी लोकमार्गको समानान्तर ७६.५ केभीको प्रसारण लाइन, कर्णाली, गण्डकी र कोसी कोरिडोरमा ४०० केभीको प्रसारण लाइनको निर्माण गरिने । ४ लेनको मध्यपहाडी लोकमार्ग, ५ लेनको मेची–काली लोकमार्ग तथा ४ लेनको तराई–मधेसको हुलाकी मार्गहरुको निर्माण ।

चीन र भारतको बीचमा गतिशिल पुल बन्न सहयोग पुग्ने गरी ४ लेनको सेती–महाकाली कर्णाली, गण्डकी र कोसी गरी चार वटा उत्तरदक्षिण जोड्ने लोकमार्गहरुको निर्माण गर्ने ।

पूर्वपश्चिम र मध्यपहाडी लोकमार्गको समानान्तर एक दिनमा मेची–काली यात्रा गर्न सकिने गतिको पूर्व–पश्चिम चल्ने दुई लेनको रेल मार्गहरुको निर्माण गर्ने प्रतिबद्धतामा उल्लेख छ।

रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी–चितवन–काठमाडौं रेल लुप निर्माण गर्ने पनि नयाँ शक्तिको प्रतिबद्धता छ।

यस्तै काठमाडौं एयरपोर्टलाई अत्याधुनिक सुविधायुक्त अन्तर्राष्ट्रिय स्तरको विमानस्थल स्तरोन्नति गर्ने घोषणापत्रमा उल्लेख छ।

निजगढमा अत्याधुनिक सुविधायुक्त अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण, खेलकुदको विकासको लागि एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला र एक खेलकुद महाविद्यालय खोल्ने घोषणापत्रमा उल्लेख छ।

नयाँ शक्तिको घोषणापत्रमा काठमाडौंदेखि सगरमाथा बेसक्याम्पसम्म केबलकार निर्माण गर्ने उल्लेख छ।

दिपायल–खप्तड–रारा, सुर्खेत–जुम्ला, थवाङ–दुनै, पोखरा–जोमसोम, विदुर–केरुङ, उदयपुर–ओखलढुंगा, धनकुटा–खाँदबारी केबलकार निर्माण गरिने प्रतिबद्धतामा जनाइएको छ।

यसैगरी प्रत्यक्ष कार्यकारी राष्ट्रपति, पूर्वसमानुपातिक संसद् र निर्वाचित कार्यकारी शक्ति पृथकिकरण (सासंदहरु व्यवस्थापकीय भूमिकामा सीमित हुनुपर्ने) र पार्टीहरु पूर्ण लोकतान्त्रिकरण हुनुपर्ने नयाँ शक्तिले उल्लेख गरेको छ।