देशमा बाम गठबन्धनले कम्युनिस्ट पार्टी तथा तिनका कार्यकर्ताहरुमा बेग्लै तरङ्ग पैदा गरिदिएको अवस्था छ । यदि निर्धारित मितिमा चुनाव सम्पन्न भयो भने यसपटक कम्युनिष्ट शक्तिको हातमा शासन सत्ता जाने प्रवल सम्भावना रहेको विश्लेषण राजनीतिक टिप्पणीकारले गरिरहेका छन् । यसरी बामशक्तिको जगजगी बढिरहेको बेला अन्य दल त्यागेर एमाले, माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको ताँती लागेको छ । तर, यही लहरबीच एक पुराना बाम नेता भने नेपाली कांग्रेस प्रवेश गरेर सबैलाई आश्चर्यमा पारिदिएका छन् ।
सीपी मैनाली नेतृत्वको नेकपा मालेका सांसद शिवचन्द्र चौधरी कांग्रेसमा प्रवेश गरेका हुन् । सीपीको पार्टीबाट एकैचोटि करिव दुई दर्जन केन्द्रिय सदस्यहरु एमाले प्रवेश गरेको परिवेशमा चौधरीले चाहिँ कांग्रेसमा आफ्नो भविष्य सुरक्षित देखे । धनुषा जिल्लामा आयोजित एक कार्यक्रमकाबीच कांग्रेस नेता विमलेन्द्र निधिको हातबाट चौधरीले टिका लगाई कांग्रेस प्रवेश गरेको घोषणा गरेका हुन् ।
यसैगरी संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं ५ का सांसद अभिषेक प्रताप साह पनि कांग्रेस प्रवेश गरेका छन् । तीन साताअघि नै पार्टी परित्याग गरेका साह हिजो विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टिका लगाई कांग्रेस प्रवेश गरेका हुन् । २०६४ सालको पहिलो संविधानसभामा २५ बर्षकै उमेरमा सभासद भएका उनी सबैभन्दा कान्छा सभासदका रुपमा चर्चामा आएका थिए ।

प्रतिक्रिया