रात्रीबस दुर्घटनामा मृत्यु हुनेको संख्या उन्नाइस

रात्रीबस दुर्घटनामा मृत्यु हुनेको संख्या उन्नाइस


राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेसीस्थित त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ ।

मृत्यु हुने पुरुषको संख्या १२ र महिलाको संख्या सात रहेको र तीमध्ये दुई जनाको सनाखत भएको छ । मृतक सप्तरी जिल्ला निवासी ६ वर्षीय आदित्य यादव र भारत मधुवनीको ममतादेवी ठाकुर रहेका छन् । गाडीमा ५५ जना यात्रु रहेकोमा १५ जनाको जीवितै उद्धार गरिएको र १९ जनाको शव फेला परेको र अझै २० जना हराइरहेको अनुमान जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटालाई उद्धृत गर्दै राससले जनाएको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको र सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ । बसका चालक सन्तोष चौधरी सम्पर्कविहीन रहेका छन् ।