अखण्ड पार्टी कांग्रेसमा समाहित

अखण्ड पार्टी कांग्रेसमा समाहित


अखण्ड पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्का र उद्योगपति एवं पूर्वसभासद सूर्यबहादुर केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । आज पोखरामा आयोजित एक कार्यक्रमबीच उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस कास्कीको आयोजनामा आयोजित पार्टी प्रवेश कार्यक्रममा दुवै नवप्रवेशीले मुलुकका लागि बाम गठबन्धन घातक हुने देखेर त्यसविरुद्ध केही भए पनि मद्दत पुग्ने ठानी आफूहरु कांग्रेस प्रवेश गरेको बताए । नेताले वाम गठबन्धन एकदलीय निरंकुश कम्युनिष्ट शासन तथा सर्वसत्तावाद कायम गराउने लक्ष्यका साथ अघि बढाइएको उनीहरुको दाबी थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयासको थालनी भएकाले सबै लोकतन्त्रवादी एकजुट हुनुपर्ने बताए । लोकतन्त्रको रक्षा केवल कांग्रेसले मात्र गर्नसक्ने कुरा नेपाली जनताले बुझेको जिकीर गर्दै उनले अहिलेको निर्वाचन लोकतन्त्रको संरक्षण, विकासवादी सोच र अधिनायकवादी सर्वसत्तावादी सोच बीचको भएको उल्लेख गरे।

सो कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेसका महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठका अलावा पूर्वसांसद शुक्रराज शर्मा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले आआफ्ना धारणा राख्दै नेपाली कांग्रेसमा समाहित हुने अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र उक्त पार्टीका पदाधिकारी तथा सम्पूर्ण सदस्य, वरिष्ठ समाजसेवी एवं पूर्व सभासद् सूर्यबहादुर केसीलगायतका नेता तथा कार्यकर्तालाई कांग्रेसले उच्च सम्मान दिने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा अखण्ड पार्टी नेपालको केन्द्र र ५७ जिल्लाको कार्यसमिति नै आजैदेखि नेपाली कांग्रेसमा विलय भएको जानकारी गराइएको थियो ।


तस्बिर : रासस