यसरी शान्त हुँदैछ बालक हत्या प्रकरणले तताएको बिर्तामोड

यसरी शान्त हुँदैछ बालक हत्या प्रकरणले तताएको बिर्तामोड



रेजिना गौतम
(झापा, ११ कात्तिक)

बालक हत्या प्रकरणलाई लिएर हिजो विर्तामोडमा उत्पन्न तनावपछि बसेको सर्वपक्षीय बैठकले दुवै घटनाका छानविन गर्न छानविन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराज तिवारीको अध्यक्षतामा इलाका प्रहरी कार्यालय विर्तामोडमा बसेको बैठकले गत असोज १४ गते भएको लक्ष्मण शिवाकोटीको हत्या प्रकरण र हत्यारालाई कारबाही माग गर्दै कात्तिक १० गते विर्तामोडमा भएको प्रदर्शनका क्रममा भएको घटनाको छानविन गर्न आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो । घटनाको छानविनका लागि गृह मन्त्रालयका सहसचिव वीरेन्द्र यादवको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन भएको छ । समिति आजै झापा आइपुग्ने बताइएको छ ।

बैठकले कात्तिक १० गते प्रदर्शनका क्रममा मारिएका अर्जुनधारा नगरपालिका–११ का नरेश थापाको परिवारलाई राज्यबाट राहत उपलब्ध गराउन अनुरोध गर्ने, तत्कालका लागि विर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापाबाट २५÷२५ हजार र उद्योग बाणिज्य संघ विर्तामोडबाट १० हजार गरी तत्काल ६० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने, मृतकका परिवारमध्ये एकजनालाई सम्बन्धित नगरपालिकाबाट रोजगारीको ब्यवस्था मिलाउने, प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ब्यवस्था मिलाउनेलगायतका निर्णय गरेको बैठकमा सहभागी नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले जानकारी दिनुभयो ।

शिवाकोटी हत्या प्रकरणका विषयमा सत्यतथ्य बाहिर ल्याउने निर्णय गरेको सर्वपक्षीय बैठकले विर्तामोडका डि.एस.पी. राजकुमार शिलवाललाई विभागीय कारबाहीका लागि सिफारिस गर्ने, कफ्र्यू खुलाउनका लागि सबै दलले सामान्यीकरण गर्ने, लक्ष्मण शिवाकोटी को हत्या प्रकरणको थप छानविनका लागि २ दिनको समय थप गर्ने लगायतका निर्णय गरेको बैठकमा सहभागी अर्जुनधारा नगरपालिकाका मेयर हरि रानाले जानकारी दिनुभयो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरु, पीडित परिवारका तर्फबाट ध्रुव शिवाकोटी, राजनीतिक दलका प्रतिनिधिहरु माओवादी केन्द्रका सिपि कडरिया, नेपाली कांग्रेसका दिपक तामाङ, नेकपा एमालेका एकराज कार्की, संघीय समाजवादी फोरमका अभिनास राई, उद्योग वाणिज्य संघ विर्तामोडका उपाध्यक्ष प्रकाश शिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।

गत असोज १४ गते अर्जुनधारा नगरपालिका–११ का ११ बर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्या भएपछि स्थानीयले न्यायिक छानविन र कारबाहीको माग राख्दै आएका थिए । हत्या भएको लामो समयसम्म पनि प्रहरीले सत्यतथ्य सार्वजनिक नगरेको भन्दै प्रहरीको अनुसन्धानप्रति असन्तुष्ट बनेका लक्ष्मण शिवाकोटीका परिवार, आफन्त र स्थानीयले कात्तिक १० गते प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागी अर्जुनधारा–११ का नरेश थापाको मृत्यु भएको थियो भने ६ जना गम्भिर घाइते भएका थिए ।

यसैगरी, बालक लक्ष्मण शिवाकोटीको हत्या प्रकरणलाई लिएर प्रशासनले लगाएको कफ्र्यू २७ घण्टासम्म नखुल्दा विर्तामोडको जनजीवन असहज बनेको छ । बालक हत्याको सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै शिवाकोटीका परिवार, आफन्त र स्थानीयबासीले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी अर्जुनधारा–११ कै नरेश थापाको मृत्यु भएको थियो ।

मृत्युपछि उत्पन्न असहज परिस्थितिपछि हिजो (शुक्रबार) दिउँसो साढे १ बजेदेखि जिल्ला प्रशासन कार्यालय झापाले विर्तामोड नगरपालिकाको १ किलोमिटर आसपासमा कफ्र्यू आदेश जारी गरेको थियो ।

हिजो उत्पन्न परिस्थितिपछि विर्तामोडमा आज बसेको बैठकले कफ्र्यू खुलाउने विषयमा सामान्यीकरण गर्ने निर्णय गरे पनि २५ घण्टासम्म कफ्र्यू नखुल्दा जनजीवन असहज बनेको हो ।

कफ्र्यूका कारण विर्तामोडका ब्यापार, ब्यवसाय सबै बन्द छ भने सुरक्षाका लागि ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको छ। कफ्र्यूका कारण सवारीसाधन सञ्चालन हुन सकेको छैन ।