मनाङलाई काँग्रेसमय बनाउन लागे स्थानीय

मनाङलाई काँग्रेसमय बनाउन लागे स्थानीय


आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले चुनावी प्रचार प्रसार अभियानलाई तिव्र बनाएको छ । नेपाली काँग्रेस मनाङले जिल्लामा घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र र २ वटा प्रदेश सभा क्षेत्र रहेको मनाङमा चुनावी सभा तथा घरदैलो अभियान संचालन गरिएको नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समितिले जनाएको छ ।

प्रतिनिधी सभाका उम्मेदवार तथा पार्टी सभापति टेकबहादुर गुरुङ, प्रदेश सभा १ का उम्मेदवार चिन्तबहादुर घले र २ का उम्मेदवार कर्म गुरुङ, नेता साङ्दो लामा, युवा नेताहरु कर्मा गुरुङ, विनोद गुरुङ, सुरेन्द्र गुरुङ, टाइगर गुरुङ, युवा नेताहरु मुनेन्द्रजंग गुरुङ, गम्भिरजंग विक, तोलाराम गुरुङ, सुरेश थकाली, पूर्ण घले, सुनबहादुर विक, तर्कबहादुर गुरुङ लगायतको टोली घरदैलोमा जनतासँग मत माग्न ब्यस्त भएका छन् ।

मंसिर १० मा हुने निर्वाचनमा नेपाली काँग्रेस मनाङलाई जिताउनका लागि मनाङका जनताहरु एक भएर लागि परेका छन् । जिल्लामा टेकबहादुर गुरुङले सडक, विद्युत, खानेपानी, शिक्षा, संचार तथा स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान उच्च रहेको भन्दै जिल्लाका मतदाताहरु सक्रिय भएर कांग्रेसको प्रचारमा लागेका छन् । मनाङबाट संविधान सभाको निर्बाचनमा अत्याधिक मत ल्याएर जितेका गुरुङ नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री जस्तो पदमा पुगेर काम गरेका थिए ।

हिमाली जिल्ला मनाङमा संचार क्षेत्रको आवश्यकतालाई देखेर गुरुङले मोवाइलका टावरहरु निर्माण गरी दिएका छन् भने आमा समूह, युवा क्लवका भवन निर्माणदेखि आर्थिक सहयोग समेत उपलब्ध गराउँदै आएका छन् ।

घरदैलौ कार्यक्रममा मतदाताहरुले प्रतिनिधी सभामा जितेपछि पुनः विकास निर्माणका काममा प्रतिवद्ध भएर रहीरहन आग्रह गरेका छन् । हामी नेपाली काँग्रेसलाई जिताउन एक भएर लाग्ने छौ, स्थानीय मतदाताहरुले एक स्वरमा भने ।

देशको नेतृत्व नेपाली काँग्रेसले मात्र गर्न सक्ने भएकाले बाम गठबन्धन देखि नडराउन तिल्चे, थोंचे, धारापानी, दानाक्यू, बगरछाप, ओढार, ताल, तिमाङ, थानचोक, नारफू, कोतो, चामे, पिसाङ, हुम्डे, मुङ्जे, भ्राका, मनाङ, टंकी मनाङ, खाङ्सार, ङावल, घ्यारु लगायत गाउँका स्थानीयहरुले उम्मेदवारहरुलाई सुझाव दिएको युवा नेता सुरेन्द्र गुरुङले जानकारी दिए ।

गुरुङले दिएको जानकारी अनुसार चुनावी प्रचार प्रसार निकै उत्साहका साथ हुदै आएको छ । मनाङका ४ स्थानीय तहमध्ये २ स्थानीय तहसहित जिल्ला समन्वय समितिको नेतृत्व गर्दै आएको काँग्रेस प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा अझै बलियो हुने भएको छ ।

चुनावी अभियानमा मनाङका जनताहरुले काँग्रेसका तीन जना लोकप्रिय र जनताप्रेमी नेता भएकाले उनीहरु बाहेकलाई जिताउनुको कुनै विकल्प नभएको मतदाताहरुको प्रतिक्रिया रहेको बताइएको छ ।

जिल्ला र देशमा नेपाली काँग्रेसले २००७ सालको प्रजातन्त्र, २०४६–०४७ सालको बहुदलिय राणाशासन र २०६२–०६३ को जनआन्दोलन तथा संविधान निर्माणको नेतृत्व काँग्रेसकै भएकाले अवको देशको जिम्मेवारी नेपाली काँग्रेसको रहेको मतदाताको भनाई छ ।

प्रतिनिधी सभा र प्रदेश सभामा नेपाली काँग्रेस अत्याधिक मतले जित्नेमा विश्वास मतदाताले लिएका छन् । प्रतिनिधी सभाका उम्मेदवार टेकबहादुर गुरुङले सबै मतदाताहरुमा मनाङ कांग्रेसलाई जिताएर मनाङको थप विकासको जिम्मेवारी कांग्रेसलाई दिन आग्रह गरेका छन् ।