एमाले कास्कीमा बढारिए माधव पक्ष

एमाले कास्कीमा बढारिए माधव पक्ष


एमालेमा माधव नेपाल पक्षलाई सिफारिस नगरेको भन्दै एमाले कास्कीमा भाँडभैलो शुरु भएको छ । पार्टीभित्रै एक खेमालाई षड्यन्त्रपुर्वक उम्मेदवार सिफारिसमा रोक लगाएको भन्दै भाँडभैलो शुरु भएको हो ।

वरिष्ठ नेता माधव नेपालपक्ष कास्कीबाट सिफारिसमै बढारिएको थियो । एमाले कास्कीले प्रजातान्त्रिक प्रणाली अनुसार उम्मेदवार सिफारिस गरेको भनेपनि नेपाल पक्षले भने षड्यन्त्रपूर्वक आफुहरुलाई पाखा पारिएको आरोप लगाएका छन् ।

प्रदेशसभाका आकांक्षी एमालेका पूराना नेता श्रीनाथ बराल, प्रतिनिधी सभा सदस्य उम्मेदवारका आकांक्षी सांसद सीता गिरी वली, तुल बहादुर गुरुङ, प्रदेशसभाकै आकांक्षी विजयबाबु बनबासी र पूण्य पौडेलले छुट्टाछुट्टै उजुरी केन्द्रिय कमिटिमा पठाएका हुन् । प्रदेश कमिटि हुँदै सिधै केन्द्रमा उजुरी दर्ता गरेको नेताहरुले बताएका छन् ।

एमालेभित्र श्रीनाथ बराल, सीता गिरी वली, तुलबहादुर गुरुङ र विजयबाबु बनबासी नेपाल पक्षका मानिन्छन् भने पूण्य पौडेल बामदेव पक्षका रुपमा चिनिन्छन् ।

गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाईपास गरेरै उम्मेदवार सिफारिस भएको भन्दै एमालेभित्र भुसको आगो सल्किएको छ ।

बराल प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (ख), बनबासी क्षेत्र नम्बर १ (क), गुरुङ क्षेत्र नम्बर २ (क), पौडेल क्षेत्र नम्बर ३ (ख) र वली प्रतिनिधीसभा सदस्य क्षेत्र नम्बर ३ का आकांक्षी थिए ।