हिउँभित्र सुन्दरिएको हुम्ला (फोटोफिचरसहित)

हिउँभित्र सुन्दरिएको हुम्ला (फोटोफिचरसहित)


– तिलक पौडेल

वि.सं. २०६८ को जनगणना अनुसार ५० हजार ८ सय ५८ जनसंख्या रहेको हुम्ला जिल्लामा साविकमा २७ गाउँ विकास समितिहरु थिए र हाल ७ वटा स्थानीय तह छन् । यो जिल्ला २९º ३५ देखि ३०º ५७ उत्तरी अक्षांश र ८१º १८ देखि ८२º १० मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । कूल ५६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो जिल्ला भौगोलिक क्षेत्रको हिसावले नेपालको दोश्रो ठूलो जिल्ला र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्न आउँछ । समुद्र सतहबाट १५२४ मिटर देखि ७३३७ मिटरमा उचाइमा अवस्थित रहेको यस जिल्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमा बझाङ्ग र चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछन् । मानव विकास सूचाकाङ्कको हिसाबले हुम्ला जिल्ला एचडिआई भ्यालु ०.४३२ सहित ७४ औं स्थानमा रहेको छ ।

मुगु जिल्लासँग सीमा जोडिएको दक्षिणी भाग भन्दा तिब्बतसँग सिमा जोडिएको उत्तर पश्चिम भेगको स्थिति सापेक्षिक रुपमा राम्रो रहेको छ । यस जिल्लाको सदरमुकाम सिमकोट हो । कतिपय बाहिरियाहरु हुम्लाको सदरमुकामलाई सिमिकोट भन्दछन् । तर हवाई मैदानको पश्चिम तर्फको सैनिक इलाका एउटा थुम्कोरकोटमा रहेको छ र त्यसैको फेदमा सिम प्रकृतिको जग्गा छ । त्यसैले त्यस ठाउँको नाउँ सिमकोट रहन गएको भन्ने भनाइलाई सार्थक तुल्याउन जिल्ला परिषदबाटै हुम्ला जिल्लाको सदरमुकाम सिमकोट भनी निर्णय गरिएको देखिन्छ ।

यस जिल्लाको नामाकरणको एउटा रोचक प्रसङ्ग रहेको छ । अनगिन्ती हिम शृङ्खलाहरूले भरिएको यो जिल्लाको नामकरण पनि यसैको सेराफेरोमा आधारित छ । एक थरिको मत अनुसार यसै जिल्लामा अवस्थित प्रसिद्ध खार्पुनाथमा प्रचिनकालमा कोटी होम लगाएको हुनाले यही होम लगाएको अर्थात ‘होमला’बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाइ रहेको छ भने अर्काथरीको भनाइअनुसार हुल्म लङिरङ्ग अर्थात साँघुरो नदीबाट अपभ्रंस भई हुम्ला भएको हो भन्ने भनाइ रहेको छ । यसका अतिरित्त ‘हुण’ जातिहरूले यही बाटो भएर ‘ल्हा’ भाज्याङ काटेर तिब्वत क्षेत्रमा प्रवेश गरेको हुनाले ‘हुण’ र ‘ल्हा’बाट ‘हुम्ला’ भएको भन्ने पनि भनाइ रहेको छ । (जिल्लाको वेभ पेजबाट)

सिमकोटको बाह्य सम्पर्कको प्रसङ्ग उप्काउँदा तिब्बतको सिमासँग सडक यातायातले जोड्ने प्रयास गरिएको छ भने नेपालको अन्य ठाउँबाट पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सुर्खेत सिमकोटको हवाइसेवालाई निर्वैकल्पिक साधनका रुपमा स्वीकार्ने वाध्यता रहेकोछ । त्यसको पनि बिसाउने ठाउँ भनेको सिमकोटको बीच भागमा रहेको हवाइमैदान हो । यो हवाइमैदानको निर्माण प्रति ज्यामी प्रतिदिन आठ रुपैयाका दरले २०३३/३४ सालमा भएको थियो भनिन्छ । पैदल सम्पर्कको कुरा गर्दा बाजुराको कोल्टी तथा जुम्लाको खलङ्गा हवाइमैदानबाट करिव एकहप्ताको पदयात्रा तय गर्नुपर्दछ ।

सञ्चार सम्पर्कको सन्दर्भमा सिडट प्रणालीको करिव २०० लाइन टेलीफोन वितरण गरिएकोछ तर दिन बादलिएमा आन्तरिक सेवासमेत अबरुद्ध हुन पुग्दछ । फेरि बाहिरिने लाइनको संख्या केबल १०–१५ को हाराहारीमा भएकोले सफा मौसमको समयमा पनि टेलीफोनको डायलटोन पाउन र सम्पर्क स्थापना गर्न मुस्किल पर्दछ । अचेल स्काईलाइन र नमस्ते, एनसेलका मोवाइलहरुको व्यवस्था भएपनि मोवाइलको टावर मनलाग्दाको समयमा मात्र देखापर्छ । फ्याक्स मेशिनहरु समेत जडान गरिएको सिमकोटमा केन्द्रसँग नियमित सम्पर्क स्थापनासमेत गर्न नसकिने अवस्था विद्यमान छ । यहाँको स्थितिका बारेमा कल्पना मात्र गर्न भ्याएका विद्वान्वर्गले एक्काइसौं शदीमा पनि इमेल, इन्टरनेट प्रयोग गर्न नसकिने सदरमुकाम छ र ! भनी स्थानीय रुपमा कार्यरत कर्मचारीहरुप्रति कथित ध्वाँस दिन पछि पर्दैनन् ।

केन्द्रबाट पठाइएका पत्रहरु नेपाल वायु सेवाका विमानहरु जाँदाका दिनमात्र सिमकोट पुग्दछन् । यो व्यहोराका अनभिज्ञ केन्द्रका बुज्रुक हाकीमहरु ‘यहाँबाट पठाएको दुई–दुई हप्ता भैसक्दा पनि पत्र पाइएको छैन भनेर गैर जिम्मेवार उत्तर दिनुहुन्छ यार !’ भनेर जिल्लाका प्रमुखहरुलाई अविश्वासको पात्र बनाउँछन् । सदरमुकाममा दुरदर्शनको सेवा उपलब्ध छैनप्राय: भन्दा पत्याउनेको संख्यामा त्यहाँका अनुभवीहरु मात्र भेटिन्छन् । श्रव्य सेवाको विषयमा रेडियो नेपालको एफ्एम् सेवा विद्युतीय ऊर्जाको आपूर्ति हुँदाका बखतमात्र सुन्न सकिन्छ, अन्यथा धनीमानी साहुजीहरुले ड्राइसेलको प्रयोगबाट टेपरिकार्ड घन्काएको बाहेक केही सुन्न सकिंदैन । यसमानेमा विद्युतीय ऊर्जा नियमित उपलब्ध हुन सकेमा टेलीफोन नियमित हुनसक्छ, फ्याक्सहरुको सेवा उपयोग गर्न सकिन्छ, उत्साही निजी क्षेत्रले निर्धक्क हात हाल्नसक्ने अवस्था भएमा हब्सको व्यवस्था मिलाई इमेल, इन्टरनेट, टेलीभिजन, रेडियो (निजीक्षेत्रबाट कैलाश एफ्एम् सामुदायिक रेडियोको अमेरिकी सहायक मन्त्रीद्वारा उद्घाटित) को उपयोग गर्न सकिने हुनसक्छ, छापाखानाको स्थापना गरी नियमिति पत्रिकाको प्रकाशनबाट पारदर्शिता कायम गर्न सकिने हुनसक्छ ।

तसर्थ, उपर्युक्तानुसारको सञ्चार सम्पर्कलाई नियमित गराउनका लागि विद्युतीय ऊर्जाको आवश्यकता अनिवार्य देखिएकोछ । सिमकोट नजिकैको हिल्दूम जलविद्युत आयोजनाले आफ्नो उत्पादन शुरु गरेपछि उल्लिखित अवस्थामा केहीहदमा सुधार भएकोछ । संयोग मार्गको तेस्रो हप्तामै डाँडापाखाहरुले शर्माएर स्वेत घुम्टोभित्र आफूलाई लुकाइसकेका छन् । अब पानीका धाराहरुमा पनि बरफ जमेको हुन्छ, बग्दै गरेको पानीमा बिहानखेरि तरजमेको हुन्छ, अर्थात् रातीको समयमा माइनस १८/२० डिग्री र बिहानसम्म पनि माइनस ५/७ डिग्री सेल्सियस तापक्रम हुन्छ । काठ्माण्डौमा चिसो भयो भनेर घर–घरमा कोठा–कोठामा हिटर तापिने अवस्थाको तापक्रम त सिमकोटका कार्यालयहरुका कोठाभित्र दिउँसोमा पनि पुग्दैन । हिटरको व्यवस्था मिलाउन मट्टितेल करिव २०० रुपैया लिटर छ भने चिया–कफी खान चिनी खोज्दा करिव १५० रुपैया किलो पर्दछ ।

जेहोस्, उत्तरी गोलार्धका पश्चिमा मुलुकहरु पनि चिसा ठाउँहरु हुन् भनिन्छ । अनि त्यहाँ पनि एकाएक जादूको छडीबाट विकास भएको त हैन होला । त्यसो भए त्यहाँको विकास प्रयासहरुको असफलताहरुलाई सुधारसमेत गरेर हामीकहाँ पनि सिमकोट जस्ता ठाउँहरुमा विकास पुऱ्याई उपर्युल्लिखित परिवेशमा सुधार ल्याउन नसकिएला ? त्यहाँको हिमाच्छादित पर्वतेश्वरको बासस्थानलाई अनुपम प्राकृतिक दृष्यको रुपमा परिभाषित गराएर आम्दानीको स्रोतका रुपमा प्रयोग गर्न सकिंदैन होला र ? के यस्तो व्यवस्था मिलाउन केन्द्र, क्षेत्र र जिल्ला तहबाट समान बुझाइको विकास गर्न सकिंदैन ? के प्रकृतिको उल्लिखित व्यहोरालाई वरदानका रुपमा नभै अभिषापका रुपमा स्वीकार गर्नु नै नेपाली र त्यसमा पनि हुम्लाबासीको नियति हो त ? यी र यस्तै प्रश्नहरुको उत्तर खोज्न सम्बन्धितहरुलाई घच्घच्यायो भने यो लेखको सार्थकता आँकिनेछ । विद्वतजन एवं नीति निर्माताहरुको ध्यान समयमै पुग्न सकोस् ।

सके सपारौं, नसके नबिगारौं…!

विविध तस्बिरमा सिमकोट, हुम्ला र वरिपरि (२०६५ सालमा लिइएको तस्बिर) –

(सिमकोटको उत्तर पश्चिमको हिमाली दृष्य)

(लटरम्म फलेको स्याउको बोट)

(हिउँ परेपछि सिमकोट वरिपरिको दृष्य)

(सिमकोटको बुरौंसे गाउँ र पञ्चमुखी हिमाल)

(सिमकोटको सिमक्षेत्र र अस्पतालको दृष्य)

(सेनाको गुल्म रहेको कोटको दृष्य)