हाम्रो कानुन र हसनको व्यथा-वसन्तराज कुँवर

हाम्रो कानुन र हसनको व्यथा-वसन्तराज कुँवर


करिब पाँच महिनाअघि बंगलादेशबाट मलाई एक व्यक्तिले फोन गरी आफू नार्कोनन् नेपालमा आएर रक्सीको समस्याबाट बाहिर निस्कन चाहेको बताए । मैले असमर्थता जनाएँ र भनेँ, ‘तपाईं नेपाल आएर उपचार गर्न इच्छुक हुनुभएकोमा आभार व्यक्त गर्छु तर अहिले म तपाईंलाई सेवा प्रदान गर्न असमर्थ छु ।’ मेरो जवाफबाट हतप्रभ बनेका उनले कारण सोधे । मैले विवशतापूर्वक जवाफ दिनैपर्‍यो, ‘यहाँ बत्ती छैन, पानी छैन त्यसैले तपाईंलाई दु:ख हुनेछ ।’
नार्कोनन् नेपालले उपचार दिन असमर्थ हुनुको कारण बत्ती-पानीको अभाव भन्ने सुनेर हसन नाम गरेका ती बंगाली सायद रनभुल्ल परे, विश्वास लागेन होला उनलाई । २१औँ शताब्दीमा कुनै देशको राजधानीमा यसरी पानी र बत्तीको समस्या त हुनै सक्तैन जसका कारणले एउटा दुर्व्यसनमा परेका व्यक्तिलाई उपचारसम्म दिन नसक्ने अवस्था आइपरोस् भन्ने उनलाई लागेछ । मैले उनलाई सीधै आफू उनलाई उपचार गर्न असमर्थ भएको कुरा बताएपछि उनले मलाई इमेल पठाएर जस्तोसुकै अवस्था भए पनि नेपाल आएर आफू उपचार-सेवा लिन इच्छुक भएको बताए । मैले उनलाई पुन: असमर्थता जनाउँदै नार्कोनन्को बेलायत, अस्ट्रेलिया वा अमेरिका केन्द्रमा जान ठेगानासहित इमेल लेखी पठाइदिएँ । त्यसपछि उनको कुनै अनुरोध आएन ।
करिब २५ दिनपछि उनले मलाई अमेरिकाबाट फोन गरे र भने- म हाल अमेरिकामा उपचार गर्दै छु, तर मलाई दक्षिण एसियाली मुलुकमै आफ्नो उपचार गर्ने इच्छा छ । तपाईं मलाई नार्कोनन् नेपालमा भर्ना गरिदिनुहोस् । मैले पुन: बत्ती र पानीको असुविधा देखाउँदै थाइल्यान्ड वा भारत जान सल्लाह दिएँ । उनले केही दिनपछि थ्ााइल्यान्ड र भारतको हैदरावादका उपचार केन्द्रहरूको भ्रमण गरेछन् । त्यहाँबाट उनी बंगलादेश फरि्कएछन् । बंगलादेश गएर पुन: फोन गरी आफू नेपाल आउन इच्छुक भएको बताए । म पनि जवाफ दिँदा-दिँदा थाकिसकेको थिएँ । मैले भने, ‘तपाईंलाई मैले पानी र बत्तीको समस्या भनेको कुरा सायद तपाईंलाई विश्वास लागिरहेको छैन । साँच्चिकै विश्वास नभए तपार्इं यहाँ आएर बुझ्न सक्नुहुन्छ ।’ मलाई लाग्यो उनलाई यति कुरा भनिदिएपछि उनी पक्कै आउने छैनन् । तर, मेरो अनुमान गलत रहेछ । उनी श्रीमती र छोरासहित नेपाल आइपुगे । मैले विमानस्थलमा उनलाई लिन पठाएँ ।
करिब ५२ वर्षका हसनको कपाल र दाह्री फुलेका थिए । मैले पहिला केहीबेर अनौपचारिक कुरा गरेर उनीहरूलाई सजिलो बनाउने काम गरेँ । उनले मसँग कुरा गर्दागर्दै भने, ‘म यहाँ भर्ना भएर रक्सीको समस्याबाट बाहिरिन चाहन्छु ।’ जतिबेला उनी मेरो उपचार केन्द्रमा आएका थिए साँझपखको त्यो समयमा लोडसेडिङ चलिरहेको थियो । कुरा गर्दागर्दै साँझ पर्न थाल्यो । हसन र मेरोबीचमा क्रमश: अँध्यारो बढ्दै थियो । मैले मैनबत्ती जलाएँ । टेबुलको पारिपटि्ट हसनका परिवार थिए । वारिपटि्ट म थिएँ र बीचमा मधुरो मैनबत्ती । मैले हसनलाई भनेँ, ‘देखिहाल्नुभयो, यहाँ हालत यस्तै हो । पिउनका लागि धारामा पानी आउँदैन, नुहाउने कसरी ? अँध्यारोमा बस्नुपर्छ दिन काट्ने कसरी ? तपाईंलाई यहाँ साँच्चिकै गाह्रो हुन्छ ।’ मैले यति भनिसक्दा हसनका आँखा रसाए । उनकी श्रीमतीको आँखा पनि रसाउन थाले । श्रीमतीले भनिन्, ‘नेपालको नार्कोनन् उपचार केन्द्रको सफलताको कथा जताततै छ । मेरा श्रीमान्लाई संसारका धेरै स्थानमा लग्यौँ तर उहाँको मन रम्दैन । उहाँ खालि नेपालमा तपाईंकहाँ जान्छु भन्नुहुन्छ । हामी धेरै दु:खमा छौँ, त्यसैले उपचार सेवा दिन्न नभन्नुहोला ।’
मलाई तिनका अनुहार नदेख्दा ‘हुन्न’ भन्न जति सजिलो हुन्थ्यो ती विदेशी दम्पतीको आँखामा देखिएका आँसुपश्चात् त्यसो भन्न निक्कै कठिन भयो । मैले भने, ‘तपाईंहरू नार्कोनन् केन्द्रको जे भएको सेवा-सुविधा हेर्नुहोस् त्यसपछि म कुरा गरौँला ।’ जतिबेला उनीहरू नार्कोनन् केन्द्र अवलोकन गर्न गए, वरिपरि बत्ती नभएका कारण यो इलाका श्मसान जस्तै लाग्दथ्यो । कर्मचारीहरूले र्टचलाइटको रोशनीमा उनीहरूलाई नार्कोनन् भवन देखाए । नार्कोनन्का भवनको भित्री भाग मैनबत्तीको धिपधिपे ज्योतिमा आंशिक रूपमा मात्र देखिन्थे । अन्धकारमा नै उनीहरू घुमे र मैले उनीहरूलाई त्यस रात बाहिर होटलमा बसी भोलि सोचेर आउन सल्लाह दिएँ ।
त्यस रात होटलमा रहँदा हसन बेहोस भएछन् र उनलाई रातमै मनमोहन हर्ट अस्पताल लगिएको रहेछ । बिहान मैले खबर पाएँ र मानवताको नाताले अस्पताल गएँ । एक्ली श्रीमतीलाई विदेशमा पति बिरामी हुँदा पर्ने आपत मैले बुझेको थिएँ । हसनलाई रक्सीकै कारण यो समस्या आएको थियो । उनले समयमा उपचार नपाए उनको मृत्यु नजिकै छ भन्ने कुरा बुझ्न कुनै कठिन थिएन । हसनलाई मनमोहन हार्ट अस्पतालको आईसीयूमा राखिएको रहेछ । उनको आँखाभरि आँसु थियो । म गाउन लगाएर त्यहाँ पुग्दा उनले हात जोड्दै भने, ‘म नार्कोनन् नेपालमा बसेर उपचार गर्न चाहन्छु ।’
त्यो क्षण मेरा लागि निक्कै संवेदनशील थियो । मैले दुवै हात समाएर ‘हुन्छ’ भनेँ । अस्पतालले डिस्चार्ज गरेपछि उनलाई सीधै नार्कोनन् उपचार केन्द्रमा ल्याएर उपचार सुरु गरेँ । केही दिनमै हसन राम्रो हुँदै गए । उनकी श्रीमतीलाई मैले बंगलादेश फर्कन अनुरोध गरेँ । संसारभर उपचार गर्दा-गर्दा थाकेको त्यो परिवार वास्तवमै नेपालको नार्कोनन्प्रति निकै विश्वस्त देखिन्थ्यो ।
हसनको उपचार सुरु भयो । बंगलादेशको उद्योग व्यवसायी घरानाबाट आएको यो परिवारले नेपालको निकै गुणगान गायो । हसनको पूर्ण उपचारमा करिब नौ महिना लाग्ने भयो तर पर्यटकीय भिसामा आएका कारण उनलाई एक सय ५० दिनभन्दा बढी राख्न नसकिने भयो । त्यसैले हामीले इमान्दारीतापूर्वक गृह मन्त्रालयमा कारण खोलेर उपचार पूरा गरुन्जेल लाग्ने थप सय दिन हसनलाई नेपाल बस्ने अनुमति माग गरी पत्र लेख्यौँ । त्यो अनुरोध गृह मन्त्रालयबाट अस्वीकार भएको खबर पाइयो ।
अब हसनलाई हामीले बंगलादेश फिर्ता पठाउनैपर्ने भयो, तर उनी बाँच्न चाहन्थे । संसारभर उपचार गराउँदा-गराउँदा थाकेका हसन यो पवित्र भूमिबाट नयाँ जन्म लिएर जान चाहन्थे । उनले पटक-पटक आफूले पूरै नार्कोनन् कोर्स पूरा गर्न चाहेको बताए, तर हामी विवश थियौँ । केही दिनको शुल्क तिरेर उनलाई नार्कोनन् कोर्सबीचैमा छुर्टाई हामीले विमानस्थल पुर्‍याइदियौँ । त्यो क्षण हामीलाई निकै नरमाइलो लाग्यो ।
विवश हसन अझै बंगलादेश जान चाहिरहेका थिएनन् । मलाई पनि त्यो क्षण हेर्न निक्कै कठिन भइरहेको थियो । तर, हामीले गर्नसक्ने केही थिएन । इमान्दारीतापूर्वक रक्षाका लागि उपचार अवधि थप गर्न प्रमाणसहित पत्र लेखिसकेका थियौँ हामीले । त्यो पत्रले काम गरेन, त्यसैले हसनलाई विमानस्थलमा गह्रुँगो मन लिएर हात हल्लाएर पठाउनेबाहेक अर्को विकल्प हामीसँग थिएन ।
हसन अहिले बंगलादेशमा छन् तर पनि हामीहरू उनलाई सम्झन्छौँ । कहिलेकाहीँ हामीलाई लाग्छ- सरकारले हाम्रो कामलाई सहयोग गरोस्, किनकि सरकारको सानो सकारात्मक निर्णयले कसैको ज्यान बच्न सक्छ । म गृह मन्त्रालयसँग अनुरोध गर्दछु कि दुर्व्यसनको कहालीलाग्दो समस्यामा परेर मृत्युसँग सङ्घर्ष गरिरहेका संसारका कोही व्यक्ति नेपालमा उपचार गरेर ज्यान जोगाउन चाहन्छन् भने तिनलाई सहयोग गर्ने व्यवस्था होस् । आज बैंकक, भारत, बेलायतजस्ता देशहरूले विदेशीहरूलाई उपचार सेवा दिएर पनि ठूलो कमाइ गरिरहेका छन् । नेपालमा कोही उपचारमा आउँछन् भने त्यो नेपालीहरूकै लागि गर्वको कुरो हो । त्यसले नेपालमा केही खर्च पनि गरेर जानेछ । पर्यटन वर्ष मनाउने क्रममा विदेशी भित्र्याउने यो पनि एक वाहना हो । यद्यपि गृह मन्त्रालयले हसन अलीको भिसा थप नगर्नुमा पनि ठोस र बलियो आधार होला, तर पनि मजस्तो समाजसेवामा लागेको व्यक्तिलाई कस्तो लाग्दोरहेछ भने यदि कानुनमा कतै गृह मन्त्रालयले त्यस व्यक्तिलाई म्याद थप्न सक्ने प्रावधान छ वा थियो भने मानवताका आधारमा केही दिनका लागि हसन अलीको भिसा थप गरिदिएको भए के नै बिग्रन्थ्यो होला र ?