अशुद्ध तेल बेच्ने शिवशक्ति उद्योगलाई उन्मुक्ती !

अशुद्ध तेल बेच्ने शिवशक्ति उद्योगलाई उन्मुक्ती !


बजारमा अशुद्ध खानेतेल छ्यापछ्याप्ती भित्र्याउने शिवशक्ति ब्रान्डको फेमिली तेल उद्योगलाई सरकारले कारबाही नगरी उन्मुक्ती दिएको छ ।

तेलको पेरोक्साइड भ्यालु ११ दशमलव ५३ मिलिइ क्विभेलेन्टर किलोग्राम फेला परे पनि शिवशक्ति ब्रान्डको फेमिली तेल उद्योगलाई सरकारले अझै सम्म कारबाही नगरि उन्मुक्ती दिएको हो ।

आपूर्ती विभागको टोलीले दसैंअघि अनुगमन गरी सिलबन्दी गर्न खोज्दा सो उद्योगका सञ्चालक र कर्मचारीले अवरोधसमेत गरेका थिए ।

त्यसपश्चात् उत्पादन र कारोबार रोक्का गर्न विभागले निर्देशन दिएको थियो । त्यसपश्चात् विभागले कालोबजारी ऐनअनुसार कारबाही गर्न प्रमुख जिल्ला कार्यालय बारालाई भदौ ३० गते पत्राचार गरे पनि हालसम्म कुनै कारबाही हुन सकेको छैन ।

कारबाही गरी जानकारी गराउन विभागले स्थानी प्रशासनलाई पत्रचार गरेपनि हालसम्म कारबाहीको जानकारी नआएको विभाग स्रोतले बतायो ।

स्थानीय प्रशासनबाट कारबाहीमा आलटाल भएपछि विभागको टोलीले पुनः अनुगमन गरी सिलबन्दी गर्ने तयारी गरेको बुझिएको छ । यसरी अशुद्ध तेल उत्पादन गर्ने कम्पनीलाई कारबाही सट्टा स्थानीय प्रशासनले उन्मुक्ती दिनु गलत भएको जानकारहरु बताउछन् ।