को–को भिड्दैछन् अर्घाखाँचीको चुनावी रणमैदानमा ?

को–को भिड्दैछन् अर्घाखाँचीको चुनावी रणमैदानमा ?


– मुक्तिनाथ भुसाल

अगामी मंसिर २१ (दोस्रो चरण)मा हुन गइरहेको प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई प्रतिनिधिको निर्वाचनका लागि अर्घाखाँचीमा विभिन्न दलका उम्मेदवारको करिव–करिव टुङ्गो लागेको छ ।

प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका नेता डा. रामबहादुर विसी साझा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने छन् । जिल्लाको क्षेत्र नम्बर १ को प्रदेशसभाका लागि नेकपा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्य र नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल चुनावी मैदानमा उत्रिने भएका छन् भने क्षेत्र नम्बर २ को प्रदेशसभाका लागि नेकपा एमालेका पूर्व जिल्लाअध्यक्ष रामजी घिमिरे र नेपाली काङ्ग्रेसका नेता हिम्मतबहादुर टन्डन चुनावी रणभूमिमा उत्रिने पक्कापक्की भएको छ ।

यस्तै, राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा कसैसँग तालमेल गरेको जानकारी प्राप्त नभए पनि यहाँको राजनीतिक माहोलअनुसार बाम तालमेलका उम्मेदवार र लोकतान्त्रिक उम्मेदवारका बीचमा प्रतिष्पर्धा हुने देखिन्छ । दोस्रो संविधानसभामा सबै दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिँदाको डाटालाई स्मरण गर्ने हो भने क्षेत्र नम्बर १ बाट एमाओवादी पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो भएका थिए । यसैगरी क्षेत्र नम्बर २ बाट नेकपा एमाले पहिलो, नेपाली काङ्ग्रेस दोस्रो र एमाओवादीका उम्मेदवार तेस्रो स्थानमा रहेका थिए । अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी सांसद टोपबहादुर रायमाझी र रायमाझीसँगको प्रतिस्पर्धामा दोस्रो स्थान लिएका नेपाली काङ्ग्रेसका डा. रामबहादुर विसी यसपाली समग्र जिल्लाको तर्फबाट संघीयसभाका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा झिनो मतले तेस्रो स्थान लिएको नेकपा एमाले र पहिलो स्थान लिएको एमाओवादीका तर्फबाट एमालेका जिल्ला अध्यक्ष आचार्य र दोस्रो स्थान प्राप्त गरेको नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति खनालबीच यसपाली प्रतिस्पर्धा हुने भएको छ । यसअघिको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले विजय प्राप्त गरेको क्षेत्र नम्बर २ मा तेस्रो स्थानमा रहेको माओवादी बीचको संयुक्त उम्मेदवारका रुपमा एमालेका पूर्व जिल्लाअध्यक्ष घिमिरे र दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका तर्फबाट नेता टन्डन चुनावी मैदानमा भिड्ने भएका छन् । समग्रमा भन्नुपर्दा तालमेलको पालना नेता तथा कार्यकर्ताहरूले इमान्दारीपूर्वक निर्वाह गरेमा यसपालीको निर्वाचनमा भारी मतले बामतालमेलका उम्मेदवारहरू विजयी हुने कुरामा दुईमत देखिँदैन तापनि क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचनका लागि अलिकति प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

जिल्लाको समग्र गाउँपालिका र नगरपालिकालाई मिलाउँदा क्षेत्र नम्बर १ अन्तर्गत मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका, सन्धिखर्क नगरपालिकाका वडा नम्वर ४, ५, ८, ९, १०, ११, १२ र भुमिकास्थान नगरपालिकाका वडा नम्बर १, २, ३, ४ रहेका छन् । यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका, सन्धिखर्क नगरपालिकाका वडा नम्बर १, २, ३, ६, ७ र भुमिकास्थान नगरपालिकाका वडा नम्वर ५, ६, ७, ८, ९, १० रहेका छन् ।