कांग्रेस विचार हो, व्यक्ति होइन : कांग्रेस नेता घर्ती

कांग्रेस विचार हो, व्यक्ति होइन : कांग्रेस नेता घर्ती


नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य दिलबहादुर घर्तीले नेपाली काँग्रेस व्यक्ति नभई विचारको राजनिति भएको बताएका छन् । नेपाली काँग्रेस सुन्दरवजार नगरकार्य समितिले आयोजना गरेको विशेष भेलामा सम्बोधन गर्दै नेता घर्तीले यस्तो बताएका हुन् ।

राज्य व्यवस्था समितिका निवर्तमान सभापति समेत रहेका नेता घर्तीले विचार कहिल्यै पराजित नहुने भन्दै विजयी मानसिकताले अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

“हामी २००७ सालदेखि प्रजातन्त्रका निम्ति लड्दै आएका छौँ, विचमा धेरै उतारचढाव आए तर हामीले जित्दै आएका छौँ” नेता घर्तीले भने, ‘काँग्रेस विचार र सिद्धान्तको राजनिति हो, विचार कहिल्यै हार्दैन र हामीले हारेका छैनौ ।’

स्थानिय तह निर्वाचनको परिणामलाई लिएर हारको मानसिकता नवनाउन उनले कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले काँग्रेस विचारमा हिड्नेहरु इमान्दार भए आगामी प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा इज्जतदार विजय हासिल गर्ने दावि गरेका छन् ।

बाम गठबन्धनप्रति इङ्गित गर्दै नेता घर्तीले कम्युनिष्टहरुले जनचाहानाको नारा दिएर दुईचार जना नेताको चाहाना पुरा हुनेगरी अघि बढेको आरोप लगाएका छन् । ।

‘कम्युनिष्टहरु जनचाहानाको नारा लिदैँ सत्ता स्वार्थको निम्ति लडिरहेका छन्’ नेता घर्तीले भने, ‘सदियौँदेखि जनताको निम्ति हामी लड्दै आएका छौँ ।’

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलले आसन्न निर्वाचन प्रतिष्ठाको लडाई भएको बताएका छन् । उनले विगतमा के भए भन्दा पनि अव काँग्रेसले जित्नुपर्छ भन्ने मानसिकतामा अघिबढ्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

‘हिजो जे भयो सवै विर्सौँ, अव काँग्रेसले जित्नुपर्छ’ सभापती पौडेलले भने,‘यो हाम्रो प्रतिष्ठाको लडाई हो । सबै एकजुट भएर लागौं ।’

पटक पटक काँग्रेसलाई धोका दिनेहरु काँग्रेस हुन नसक्ने उनको दावी थियो । स्वार्थ सिद्धि नभएकै कारण पार्टीलाई धोका दिनेहरुलाई पार्टीभन्दा बाहिरै रहनु बेश भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै निवर्तमान साँसद एवं पूर्व सभापति चन्द्रबहादुर कुँवरले आम जनताको चाहना र आवश्यकता अनुरुप विकास निर्माणको नेतृत्व गर्नसक्ने पार्टी भएको दावी गरे । उनले आफ्नो कार्यकालमा जिल्लामा पर्याप्त विकास निर्माणका काम भएको भन्दै उदाहरणको रुपमा ल्याउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लमजुङका निवर्तमान सभापति एंव प्रदेशसभा “ख” उम्मेदवार कृृष्णप्रसाद कोईरालाले लमजुङको विकास निर्माणमा आफू पहिल्यैदेखि लागीपरेको बताए । मुलुकको अस्थिर राजनितिक अवस्थामा पनि जिल्लाको विकास निर्माणमा आफू पार्टी सभापतिको तर्फबाट महत्वपुर्ण भुमिका निर्वाह गरेको उनको दावी थियो ।

नेपाली काँग्रेस सुन्दरवजार नगर कार्यसमितीका सभापति ठाकुरप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कार्यसमिति सचिव हरि बराल, महासमिति सदस्य आनन्द घिमिरे लगायत जिल्ला कार्यसमिति सदस्य, क्षेत्रिय कार्यसमिति पदाधिकारी एवं सुन्दरवजार नगरपालिकाका कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।