सिटौलाको नाम समानुपातिकबाट फिर्ता भएसँगै काङ्ग्रेस–राप्रपा तालमेल धरापमा

सिटौलाको नाम समानुपातिकबाट फिर्ता भएसँगै काङ्ग्रेस–राप्रपा तालमेल धरापमा


काङ्ग्रेस नेता कृष्ण सिटौलाको नाम समानुपातिकबाट फिर्ता भएसँगै काङ्ग्रेस–राप्रपा बीच हुने भनिएको चुनावी तालमेल धरापमा परेको छ ।

राप्रपासँग यसअघि गरेको प्रतिबद्धता विपरित समानुपातिकबाट सिफारिस गरिएका कृष्ण सिटौलाको नाम फिर्ता लिर्दै प्रत्यक्ष तर्फको उम्मेदवार बनाउन निर्वाचन आयोगमा सिफारिस काङ्ग्रेसले गरेसँगै राप्रपाले काङ्ग्रेससँगको चुनावी तालमेल अघि बढ्न नसक्ने स्पष्ट पारेको हो ।

काङ्ग्रेसले झापा क्षेत्र नं. ३ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने निर्णय गरेपछि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले सामाजिक संजालमा प्रतिक्रिया दिर्दै कांग्रेस–राप्रपा गठबन्धन टुटेको घोषणा गरेका छन् । उनले काङ्ग्रेसबाट धोका भएको टिप्पणी समेत गरेका छन् ।

उनले झापा क्षेत्र नं ३ बाट आफू पछि नहट्ने समेत स्पष्ट पारेका छन् । काङ्ग्रेसले केही साता अगाडि सिटौलाको नामलाई समानुपातिकको अग्रस्थानमा राखेको भए पनि पछिल्लोपटक उनको नाम समानुपातिकबाट हटाएपछि राप्रपा बढी सशंकित बनेको देखिन्छ ।

काङ्ग्रेसका अग्रज नेता तीर्थराम डंगोलले झापा क्षेत्र नं ३ का पार्टी नेता तथा कार्यकर्ताले पूर्व महामन्त्री सिटौलालाई त्यस क्षेत्रबाट उम्मेदवार बनाउन दबाब आएपछि उनलाई उम्मेदवार बनाउन लागिएको जानकारी दिए ।

राप्रपाले झापा क्षेत्र नं ३ अतिरिक्त मकवानपुर १, दैलेख १, पर्सा १, काठमाडौँ ७ मा उम्मेदवारको टुंगो लगाइसकेको छ । बाँके र धनुषा दुई स्थानमा समझदारी हुनका लागि छलफल भइरहेको थियो ।

राप्रपाले काङ्ग्रेस–राप्रपा तालमेललाई लिएर थप निर्णय लिन आज ३ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।