विरोधि सिध्याउन विमलेन्द्रले रचे यस्तो षडयन्त्र

विरोधि सिध्याउन विमलेन्द्रले रचे यस्तो षडयन्त्र


प्रदेश नम्बर २ को एकलौटी नेता बन्न कसरतरत विमलेन्द्र निधिले राजपा र सङ्घीय फोरमसँग काङ्ग्रेसको तालमेल गर्ने निहुँमा पार्टीभित्रका आफ्ना आलोचक र विरोधि जतिलाई सिध्याउने योजना बनाएका छन् । काङ्ग्रेसको तर्फबाट पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजालसँगै वार्ताटोलीमा रहेका विमलेन्द्रले काङ्ग्रेसभित्रका आफ्ना विरोधिको निर्वाचन क्षेत्र छानी–छानीकन राजपा र फोरमका लागि खाली गरिदिने योजना बनाएको जानकारी प्राप्त भएको छ ।

विमलेन्द्रले आफ्ना पुराना विरोधि पूर्वराष्ट्रपति डा. रामवरण यादवको छोरा डा. चन्द्रमोहन यादवको निर्वाचन क्षेत्र (धनुषा–४) महन्थ ठाकुरका सम्धी उमाकान्त झाका लागि खाली गराउन खोजेका छन् । त्यस्तै, महोत्तरीको २ नम्बर निर्वाचन क्षेत्रबाट किरण यादवलाई पन्छाउन शरतसिंह भण्डारीलाई अघि सारिएको छ ।

किरण यादव पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी र वर्तमान राष्ट्रपति विद्या भण्डारीकी सम्धिनी हुन् । त्यस्तै, विमलेन्द्रका पुराना आलोचकका रूपमा चिनिएका रामचन्द्र तिवारीलाई महोत्तरीको ३ नम्बर क्षेत्रबाट हटाउन सो क्षेत्रमा महन्थ ठाकुरलाई गठबन्धनको उम्मेदवार बनाउने निश्चित गरिएको छ ।

विमलेन्द्र निधिका अर्का आलोचक डा. अमरेशकुमार सिंहलाई सर्लाहीको ४ नम्बर क्षेत्रबाट पन्छाउन उनले उक्त क्षेत्र राजेन्द्र महतोलाई सुम्पिन खोजेको बुझिएको छ । डा. सिंहको सो क्षेत्र काङ्ग्रेसको निकै बलियो मानिन्छ र उक्त क्षेत्रबाट सिंहको एकल नाम पार्टीको सिफारिसमा परेको थियो । यसअघि निर्वाचन क्षेत्र विभाजन गर्ने क्रममा विमलेन्द्र निधिले आफ्नो विरोधि दिनेश पर्सैलाको धनुषास्थित निर्वाचन क्षेत्र नै लोप गराइदिएका थिए ।

दुई नम्बर प्रदेशमा एकछत्र नेता बन्न विमलेन्द्र निधिले रचेको जालका विरुद्ध काङ्ग्रेस नेताहरूले सङ्गठित पहल गर्ने तयारी गरिरहेको बुझिएको छ ।