बेलायमा गत हप्ता सम्पन्न स्थानीय निर्वाचनको परिणामले सत्तामा बसिरहेका दुबै पार्टीहरु कन्जर्भेटिभ र लिवरल डेमोक्रेटिक पार्टीभित्र खैलाबैला परेको छ । निर्वाचनको परिणाम प्रतिशतको आधारमा सबभन्दा बढी लिवडेम पराजीत भएको छ भने मिलीजुली सरकारको दाजूको भूमिका निर्वाह गर्दै आएको कन्जर्भेटिभ पार्टी पनि कम पराजय भएन ।
स्थानीय निर्वाचनको परिणामअनुसार लेबर पार्टीले समग्रमा ३८ प्रतिशत काउन्सीलरहरु बिजय हासिल गरेको छ भने सत्ताधारी कन्जर्भेटिभ पार्टीले ३१ प्रतिशत । बिगतको तुलनामा झण्डै ४०० काउन्सिलरहरु कन्जर्भेटिभ पार्टीले गुमायो भने लिब डेमले तीनसय गुमायो । यी सबैको बिजेता लेबर पार्टीले बेलायतभरि झण्डै आठ सय काउन्सिलरहरु बिगतको तुलनामा थप गराउन सफल भयो ।
निर्वाचनको परिणाम आफ्नोबिरुद्ध आएपछि कन्जर्भेटिभ पार्टीका वरिष्ठ राजनितिज्ञहरुले प्रधानमन्त्री डेबिड क्यामरुनको आलोचना गरेका छन् । केहीले सरकारले समलिङ्खीको बिवाहका लागि छुट दिएको र माथिल्लो सदनका लर्डहरुको सुबिधामा सुधार ल्याउने भन्ने कुरा आदिले निर्वाचनको परिणाम कन्जर्भेटिभ पार्टीबिरुद्ध भएको दाबी गरेका छन् भने धेरै जसो कन्जर्भेटिभ पार्टीका ब्याक बेन्चर्स संसद सदस्यहरुले सरकारका सम्पूर्ण कार्यक्रमहरुमा हेर फेर गर्नु पर्ने माग राखेका छन् । उनीहरुले मूल्रतः सरकारले ल्याएको अर्थीनीतिका कारण बेलायती जनता बेखुसी भएको निश्कर्ष निकालेका छन् । बिगत दुई वर्षदेखि कन्जर्भेटिभ पार्टी र लिवरल डेमोक्रेटिक पार्टीको मिलिजुली सरकारले ल्याएको जनताका लागि अप्रिय लाग्ने बिभिन्न कार्यक्रम जस्तै बचतको नाममा बजेट कट्टा, एन एच एस् रिफर्म, हुलाक सेवा एवं लण्डनका रेलसेवा प्राइभेटाइजेसनका कारण नै यसपालिको निर्वाचनमा कन्जर्भेटिभ पार्टी र लिवरल डेमोक्रेटिक पार्टीले हार खानु परेको राजनैतिक पर्यबेक्षकको दाबी रहेको छ ।
२००७/२००८ मा अमेरिकाको लेहमान ब्रदर्श नामक बैंक धरासाही भएको कारण बेलायती अर्थतन्त्रमा समेत धक्का परेको थियो । लेहमान ब्रदर्श र स्कटलैण्डका बैंकहरु खासगरी बैंक अफ स्कटलैण्ड र नर्दर्न रक बैकको नजिकको आर्थिक कारोबार रहीआएको थियो । नर्दर्न रक र स्कटलैण्डले पनि अमेरिकाको लेहमा ब्रदर्शमार्फत अमेरिकी जनतालार्ई घर खरिद गर्न ऋण उपलब्ध गराउँदै आएका थिए । जव ती अमेरिकी जनता ज–जसलार्ई लेहमान ब्रदर्शले ऋण उपलब्ध गराएको थियो उनीहरुले घर खरिद गर्दा लिएको ऋण फिर्ता गर्न नसक्ने अवस्थामा पुगे तव लेहमान ब्रदर्श धराशाही भएको थियो । त्यतिबेला टोनी ल्बेयरको पालामा अर्थमन्त्रीमा चतुर मानिएका गोर्डोन ब्राउनले प्रधानमन्त्री पद सम्हालेका थिए । यसरी आइलागेको आर्थिक मन्दी सम्हाल्न तत्कालिन प्रधान मन्त्री गोर्डोन ब्राउनले प्रयास गरिरहेकै बेला २०१० मा सम्पन्न आम निर्वाचनबाट डेबिड क्यामरुनको प्रधान मन्त्रित्वमा कन्जर्भेटिभ पार्टी र लिवरल डेमोक्रेटिक पार्टीको संयुक्त मिलीजुली सरकार निर्माण भयो । नयाँ सरकार निर्माण हुनासाथ आर्थिक मन्दीबाट मुक्त पाउने बाहानामा मुलुकको सम्पूर्ण सार्वजनिक क्षेत्रको बजेट कट्टा गर्ने कार्यक्रम ल्याए । बजेट कट्रटा गर्ने क्रममा बूढाबूढीहरुले पाउने गरेको बृद्ध भत्ता, अपाङ्खहरुले पाउने गरेको भत्ता एवं सामाजिक सहयोग भत्ता (वेलफेयर) हरु कट्रटा गरे । साथै विश्वबिद्यालयको शुल्क बृद्धि गरे । यतिले मात्र नपुगेर ८०को दशकमा तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरले ल्याएको कार्यक्रम अनुरुपको राष्ट्रिय स्वास्थ्य सेवालाई प्राइभेटाइजेशन गर्नेतर्फ योजना बनाए । उपरोक्त कारणहरुबाट सरकार जनताको नजरमा अप्रिय हुँदै गएको छ ।
गत हप्ता सम्पन्न निर्वाचन परिणामपछि यिनै मूलभूत कारणहरु नै कन्जर्भेटिभ पार्टी पंक्ति भित्रबाटै सरकारका कार्यक्रमहरुमा परिवर्तन ल्याउनु पर्ने माग उठेको विश्वाँस गर्ने बलियो आधार रहेको छ । संसद सदस्यहरुमात्र नभई स्वयं मन्त्रीहरुले समेत पार्टी पोलिसीमा पुनर्मूल्याँकन गर्नु पर्ने माग राखिसकेका छन् ।
लिवरल डेमोक्रेटिक पार्टीनेता एवं उपप्रधान मन्त्री निक ल्केगले सरकारले जनताका लागि अप्रिय लाग्ने कार्यक्रम ल्याएको कारणले आफूहरुले पनि निर्वाचनमा ठूलो पराजय बेहोर्नु परेको स्वीकार गरेका छन् ।
अर्कोतिर बेलाइतको राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने लण्डनको मेयरको निर्वाचनमा भने कन्जर्भेटिभ पार्टीका पूर्व मेयर बोरिश जोनसोन पुनः निर्वाचित भएका छन् । बोरिश निर्वाचित हुनुमा जनताले कन्जर्भेटिभ पार्टीलाई मन पराएर भोट दिएको नभै उनको ब्यक्तिगत करिस्माको कारण हो भन्ने तर्कसमेत गरिन्छ एकातीर भने अर्को तर्क जनताले जाना जानै बोरिशलाई भोट दिएपछि कन्जर्भेटिभ पार्टीभित्र उनको यो भन्दामाथि जाने भ¥याङ्खको खुडकिलो बन्द हुन्छ र डेबिड क्यामरुनको बिकल्पमा आउने अर्को ब्यक्ति नहुने जानकारहरु बताउँछन् । यदि बोरिश लण्डनको मेयर पदमा निर्वचित नभएको भए स्थानीय निर्वाचनको कारण कन्जर्भेटिभ पार्टीको नेतृत्वमाथि चोरऔला ठड्याउने अवस्था आउने थियो र जव पार्टी नेतृत्वको सवाल उठ्छ तब बोरीश जोनसोन अघिल्लो पंक्तिमा आएर डेबिड क्यमरुनको विकल्पमा उभिने थिए त्यतिखेर कन्जर्भेटिभ पार्टीका अन्य नेताहरु एवं कार्यकर्ताहरु बोरिशको पंक्तिमा उभिने थिए । अनि आगामी २०१५को आम निर्वाचनमा बोरिश जोनसोन प्रधान मन्त्रीपदको उम्मेवारका दाबेदार बन्ने थिए । त्यस्तो अवस्थामा कन्जर्भेटिभ पार्टीले अझ दाहिनेतिरको राजनैतिक बाटो अख्तियार गर्ने थियो । किनकि बोरिशले कहिलेकाँही सार्वजनिक रुपमै रंगभेदी टिप्पणीहरु गर्ने गरेको पाइएको छ ।
सम्पन्न स्थानीय निर्वाचनलाई समग्रतामा हेर्दा लेबर पार्टिका नेता एड मिलिब्याण्को कुर्चीको पेंच कसिएको छ भने कन्जर्भेटिभ पार्टीका नेता डेबिड क्यामरुन र लिवरल डेमोक्रेटिक पार्टीका नेता निक ल्केगको कुर्चीको पेंच भने धोल्लीएको महशूस गरिएको छ ।
अर्कोतिर कन्जर्भेटिभ पार्टीका आफ्ना संसद सदस्यहरुले प्रधान मन्त्री डेबिड क्यामरुनलाई कन्जर्भेटिजम आफ्नो सिद्धान्तलाई एकातिर पन्छाएर लिवडेमसंग बढी संगत गरेको, लिवडेमको कार्यक्रमहरु बढी मात्रामा लागु गर्न खोजेको, कन्जर्भेटिच पार्टीले आफ्नो कार्यक्रम नल्याएको आरोप लगाउँदै अब कन्जर्भेटिजमको सिद्धान्त अनुसार राजनीति गर्न र कार्यक्रम ल्याउन दवाव दिँदै आइरहेका छन् ।
राजनैतिक पण्डितहरुको एक अर्को तर्कअनुसार कन्जर्भेटिभ पार्टीभित्र २००५ साल यता कुनै खास सैद्धान्तिक सम्मेलन नभएको र पार्टीनेताको निर्वाचन पनि नभएको कारण अब पार्टी नेताको पदका लागि निर्वाचन बोलाउनु पर्ने बेला भएको भन्ने रहेको छ । यदि त्यसो भएको खण्डमा डेबिड क्यामरुनले आफ्नो जीवनका पचास वसन्त पार नगर्दै राजनीतिको अग्रपंक्ति खाली गरिदिनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
निष्कर्ष
बिश्व खुलापन १९९०को दशक पछिको बेलायती निर्वाचनको इतिहासलाई नियाल्ने हो भने १९९६को स्थानीय निर्वाचनको परिणाम पनि यस्तै प्रकारको आएको थियो । असीको दशकमा मार्गरेट थ्याचरको पालामा कन्जर्भेटिभ पार्टीले ल्याएको प्रष्ट बहुमत भएका स्थानीय सरकारहरु जोन मेजरको पालामा बिस्तारै पराजीत हुँदै गएका थिए र १९९६ सम्म आइपुग्दा लेबर पार्टीले कन्जर्भेटिभ पार्टीका काउन्सीलरहरुलाई पाखा लगाएर स्थानीय स्तरमा आफ्नो बर्चस्व कायम गर्न सफल भएको थियो । १९९७ को आम निर्वचनमा टोनी ल्बेयरको नेतृत्वमा लेबर पार्टीले मुलुकभर विजय हासिल गरेर सरकार बनाएको थियो । तर यसपालिको अवस्था थोरै भिन्न के छ भने आगामी वर्षमै आम निर्वाचन हुन गैरहेको छैन, त्यसैले अझै पनि बुद्धिमत्तापूर्वक पार्टी नेतृत्वमा परिवर्तन गरी वर्तमान सरकारले ल्याएको कार्यक्रमहरु माथि पुनर्मूल्यांकन गरेमा ढिलो भएको छैन । सबैभन्दा महत्वपूर्ण कुरा के भने
वर्तमान सरकारले ल्याएको अर्थनीति,स्वास्थ्य सेवामा गरेको जनबिरोधी परिवर्तन, सर्वसाधारणलाई शिक्षाबाट बञ्चित गराइने शिक्षा नीतिलाई फिर्ता लिनु पर्छ । तवमात्र पुनः जनताको बिश्वास जित्न सक्ने सम्भावना रहन्छ ।
(लेखक स्वतन्त्र विचारक हुन् । उनलाई उनको आफ्नो ब्लग The-Global मा अझ ज्यादा विस्तृतरुपमा पढ्न सक्नुहुनेछ भने उनलाई यस [email protected] इमेलमार्फत सम्पर्क राख्न पनि सक्नुहुनेछ ।-प्रधानसम्पादक)
प्रतिक्रिया