देउवाले भने–कम्युनिष्ट गठबन्धनले प्रजातन्त्र खतरामा

देउवाले भने–कम्युनिष्ट गठबन्धनले प्रजातन्त्र खतरामा


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट गठबन्धनले प्रजातन्त्र खतरामा परेको बताएका छन् ।

देउवाले कम्युनिष्ट गठबन्धनले प्रजातन्त्र खतरामा रहेको बताउँदै भने, ‘प्रजातन्त्रमाथि खतरा छ । कम्युनिष्ट गठबन्धनले प्रजातन्त्र धरापमा पार्न खोज्दैछन् । प्रजातन्त्रले नै जनतालाई सम्पूर्ण अधिकार दिएको छ । कम्युनिष्ट शासनमा अन्याय भयो भनेर मन लागेका बेला रुनसमेत पाइँदैन । ममाथि अन्याय भयो भन्न पनि पाइँदैन । देशलाई कम्युनिष्ट अधिनायकवादतर्फ लैजान खोज्दैछन् ।’

प्रदेश र प्रतिनिधि सभा चुनावका निम्ति पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले अहिले प्रजातन्त्रमाथि खतरा देखिएको भन्दै प्रजातन्त्र जोगाउन आउँदो चुनावमा लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताए ।

उनले भने,‘७ सालको राणा शासन हटाइयो, पञ्चायत हटाइयो, राजतन्त्र पनि हटाइयो । अब समृद्धिको नेतृत्व पनि काङ्ग्रेसले नै गर्छ,’ सभापति देउवाले घोषणापत्र सार्वजनिक गर्दै भने, ‘प्रजातन्त्र जोगाउन पनि काङ्ग्रेसलाई मतदान गर्नैपर्छ ।’

कार्यक्रममा नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले तयार पारेको घोषणापत्रले समृद्धिको मार्गचित्र कोरेको बताए । त्यसका लागि पनि कांग्रेसकै नेतृत्व आवश्यक भएको उनको भनाई थियो ।

महामन्त्री कोइरालाले कम्युनिष्ट एक ठाउँमा उभिएको बताउँदै अब काङ्ग्रेस पनि एकवद्ध भएर चुनावमा होमिन आवश्यक रहेको जिकिर गरे ।